धनगढी : गृहमन्त्री रमेश लेखकले धनगढीमा प्रहरीको पेट्रोल पम्पको उद्घाटन गरेका छन्। धनगढी उपमहानगरपालिका–२ सन्तोषी टोलमा निर्माण गरिएको आधुनिक पेट्रोल पम्पको गृहमन्त्री लेखकले बिहीवार उद्घाटन गरेका हुन्।
सो पम्प सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको परिसरमा छ। लेखक पेट्रोल पम्पको अवलोकनसमेत गरेका थिए।
नेपाल प्रहरी कल्याण कोषको पाँच करोड ८७ लाख ७८ हजार ४ सय ४५ रुपैयाँ लागतमा धनगढीमा पेट्रोल पम्प तथा पूर्वाधारहरूका निर्माण गरिएको प्रदेश प्रहरीले जनाएको छ।
यस्तै गृहमन्त्री रमेश लेखकले धनगढीमा प्रहरी ब्यारेकको उद्घाटन गरेका छन्। धनगढी उपमहानगरपालिका–२ मा निर्माण गरिएको नवनिर्मित कार्यालय भवन, ब्यारेक भवन, मेस तथा क्वाटर गार्डको बिहिवार गृहमन्त्री लेखकले उद्घाटन गरेका हुन्।
गृहमन्त्री लेखकले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा निर्माण गरिएका भवनहरूमा अवलोकन तथा वृक्षारोपणसमेत गरेका थिए। गृहमन्त्री लेखकले प्रदेश प्रहरीका भौतिक संरचनाहरूले प्रहरीको काम–कारबाहीमा सहयोग पुग्ने बताएका छन्। उनले प्रहरीलाई शान्ति, सुरक्षा र अपराध, अनुसन्धान गर्न तथा रोकथाम र नियन्त्रण गर्न सहज हुने बताएका हुन्।
नागरिकको शान्ति सुव्यवस्था कायम गर्नु एवम् अपराध अनुसन्धान, रोकथाम तथा नियन्त्रण प्रहरीको प्रमुख कर्तव्य भएको उनले बताए। नागरिकका समस्यालाई प्राथमिकतामा राखेर उच्च मनोबलका साथ कार्यसम्पादन गर्न गृहमन्त्री लेखकले निर्देशनसमेत दिएका छन्।
नेपाल सरकारको १३ करोड ४० लाख ८ हजार २ सय ३२ रुपैयाँमा भवनहरू निर्माण गरिएका थिए।
यस्तै सोही क्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले भने सीमा नाका लगायत कैलाली जिल्लामा कार्यरत प्रहरी कर्मचारीहरूलाई चुस्त रुपमा कार्य गर्न निर्देशन दिएका थिए।