काठमाडौं: काठमाडौं प्रहरी परिसरमा कार्यरत प्रहरीले क्रिप्टोकरेन्सी कारोबारीबाट ५० लाख रूपैयाँ घुस लिएको पाइएको छ। घुस लिएर पक्राउ परेका आरोपीलाई भगाएको पनि खुलेको हो।
स्रोतका अनुसार गत शुक्रबार क्रिप्टोकरेन्सी कारोबारको आरोपमा एकजना पक्राउ परेका थिए। तर उनलाई डिल गरेर प्रहरीले आइतबार छाडेको पाइएको छ।
बिचौलियामार्फत परिसरको मुद्दा शाखामा कार्यरत सहायक हवल्दार गणेश खड्कासम्म ५० लाख पुगेको र पक्राउ परेका व्यक्ति छुटेको स्रोतले जनाएको छ।
प्रारम्भिक अनुसन्धानबाट ती छाडिएका मान्छे क्यानडा भागेका छन् भने हवल्दार खड्कालाई थुनामा राखेर आन्तरिक अनुसन्धान थालिएको छ।
पक्राउ परेका आचार्य थरका आफन्तले ५० लाख रूपैयाँ तिरेको गुनासो गरेपछि परिसर प्रहरीले आन्तरिक छानबिन गरिरहेको हो। पक्राउ परेका आरोपीका आफन्तमार्फत रकम लिने बिचौलीया हाल फरार छन्।
हवल्दारकै मिलेमतोमा उनी छुटे वा अन्य प्रहरी अधिकारीको पनि संलग्नता छ भन्नेबारे अनुसन्धान भइरहेको छ।