धनगढी : कैलालीको टिकापुरमा परियोजना समीक्षा गोष्ठी सम्पन्न भएको छ । जिल्लाका विभिन्न पालिकाहरुमा सम्पन्न बाल संरक्षण, जीविकोपार्जन र शिक्षा कार्यक्रमको प्रभावकारिता मुल्याङ्कन गोष्ठी सम्पन्न भएको हो।
वर्ल्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा बाल कल्याण संघ टीकापुर, सिएसएसडि, यार्ड नेपाल र दिगो विकास समाज भजनीले जिल्ला विभिन्न पालिकाहरुमा बाल संरक्षण, जीविकोपार्जन र शिक्षा सम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्दै आएका थिए ।
गौरीगंगा नगरपालिकाको-१०, घोडाघोडी नगरपालिका-५ र टिकापुर नगरपालिका-८ मा सम्पन्न भएका कार्यक्रमहरूको समीक्षा सम्पन्न भएको परियोजना अधिकृत हरिप्रसाद जोशीले बताए । समुदायमा सञ्चालन भएको कार्यक्रमले सामुदायिक लाभ, बालबालिकाको सशक्तीकरण र शैक्षिक सामग्रीको उपलब्धता सुनिश्चित गरेको उनले बताए ।
यस्तै कार्यक्रम संयोजक सुगम रेग्मीले विपत प्रतिकार्य र सन्देशमुलक कार्यक्रमहरूको सकारात्मक प्रभाव परेको बताए । उनले आगामी दिनमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन सुझावहरू प्राप्त भएको बताए ।
सुझावहरूमा बालबालिकाका लागि आत्मरक्षा र मनोपरामर्श कार्यक्रमलाई निरन्तरता दिने, बिपन्न बालबालिका र परिवारलाई शैक्षिक सामग्री वितरण गर्ने र अभिभावकलाई व्यावसायिक तालिम दिने कुरा उठान भएका थिए ।
गोष्ठीमा जनप्रतिनिधि, पालिकाका शाखा प्रतिनिधि, बालबालिका, किशोरकिशोरी, अभिभावक र वर्ल्ड भिजन इन्टरनेशनल नेपालका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।