काठमाडौं: नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले डडेल्धुरामा विद्यालय उद्घाटन गरेका छन्। उनले बुधबार पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको आलिताल गाउँपालिका ८, डोलास्थित दुर्गा माविको नवनिर्मित विद्यालय भवनको उद्घाटन गरेका थिए।
उनी बुधबार बिहान काठमाडौंबाट धनगढी गएर धनगढीको होटल रुबसमा खाना खाएर डडेल्धुरा लागेका थिए। राजदूतको स्वागतका लागि राष्ट्रिय सभा सदस्य जगतसिंह पार्की र आलिताल गाउँपालिका अध्यक्ष धनगढी विमानस्थल पुगेका थिए।
त्यसपछि बिहीबार नवदुर्गा गाउँपालिका पालिका ३,चेल्पीस्थित नवदुर्गा माविको भवन उद्घाटन गरेपछि राजदूत दार्चुला गएका थिए।
त्यसपछि उनले दार्चुलाको भारतीय सीमानामा रहेको महाकाली नदीमा निर्माणाधीन पक्की पुलको अनुगमन गर्दै पुलमाथि राखिएको बैठकमा भारतीय ठेकेदार कम्पनीलाई तोकिएको समयमा काम सम्पन्न गर्न निर्देशन पनि दिएका छन्।