सुरेश जोशी, बनबासा: भारतबाट नेपालमा हतियारसहित ड्रग्स तस्करी हुने कुरा जगजाहेर नै छ। बेलाबेला सीमा नाकामा घट्ने घटना र हतियारसहित व्यक्ति नै पक्राउ पर्नुले तस्करीको विषयलाई थप पुष्टि गर्दछ।
यसैक्रममा हिजो (शुक्रबार साँझ) मात्रै नेपालको कञ्चनपुरस्थित सीमानाका जोडिएको बनबासा क्षेत्रमा कारतूससहित २ जना पक्राउ परेका छन्।
भारतीय प्रहरीका अनुसार पक्राउ पर्नेमा रानीखेतका विधायक प्रमोद नैनवालका भाई सतीश नैनवाल र उनका ड्राइभर अल्मोडा निवासी दिनेश चन्द्र रहेका छन्।
उनीहरूलाई एसएसबीले नेपाल–भारत सीमामा ४० थान कारतूससहित समातेको जनाएको छ।
नेपाल–भारत सीमावर्ती क्षेत्र बनबासामा आउने क्रममा नैनवाल र उनका चालकलाई एसएसबीले अवैध कारतूससहित पक्राउ गरेपछि बनबासा प्रहरीलाई जिम्मा लगाएको छ।
प्रहरीका अनुसार एसएसबीले सतीश नैनवाल र उनका चालकबाट ४० वटा अवैध ७.६५ एमएम जिवित कारतूस बरामद गरेको थियो।
चेकिङका क्रममा एसएसबीले नेपाल–भारत सीमाको बनबासामा नेपालतर्फ आउने क्रममा उनीहरूलाई समातेको हो।
र, यो पनि: महेन्द्रनगर हुँदै तस्करी हुन्छ करोडौंको ड्रग्स, साढे ४ करोड भारुको माल समातियो