काठमाडौं: नेपाल प्रहरीका डीएसपीहरुको सरुवाको तयारी थालिएको छ। अस्ति इन्सपेक्टरहरुको सरुवा भएकोमा अब डीएसपीहरुको सरुवा तयारी थालिएको हो।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार केही जिल्ला तथा विभिन्न युनिटका डीएसपीहरुको सरुवा तयारी थालिएको छ। सरुवाको गृहकार्य भैरहेको र केही दिनमै सरुवा हुने स्रोतको दाबी छ।
यस्तै डीएसपीपछि एसपीहरुको पनि सरुवाका लागि गृहकार्य थालिएको छ। डीएसपीपछि एसपीहरुको सरुवा हुनेछ।
यसैक्रममा सरुवा–बढुवामा अत्याधिक चलखेल हुन थालेको पाइएको छ। चलखेल हुन थालेपछि प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले नै प्रहरी अधिकारीलाई नेता भेट्न रोक लगाएका छन्।
अफिसियल काम बाहेकको अवस्थामा नेतालाई भेटे विभागीय कारबाही हुने भन्दै प्रहरी प्रधान कार्यालयले परिपत्र गरेको हो।
डीएसपी तथा एसपीहरुले गृहमन्त्री निकटका व्यक्तिलाई भेटेर सरुवामा चलखेल गराउन खोजेको बुझिएको छ।आजमात्र चलखेल रोक्न गरिएको परिपत्रमा समेत संगठनमाथि अनावश्यक दबाब र प्रभावको सिर्जना गर्न खोजेको उल्लेख छ।
परिपत्रिमा भनिएको छ ,‘विभागीय नीतिनियमको धज्जी उडाउने, सांगठनिक गोपनीयता भंग गर्ने, नागरिक–प्रहरीबीचको अनुशासनात्मक एवं व्यवसायिक विश्वासको प्रतिकूल एवं पदीय दायित्वअनुसारको जिम्मेवारी निर्वाह गर्दा खरो रुपमा उत्रनु पर्नेमा सो नगरी शक्तिका अगाडि समर्पित हुने गरी कुनै विशेष व्यक्ति र शक्तिको अगाडि नतमस्तक भई संगठनमाथि अनावश्यक दबाब र प्रभावको सिर्जना गरी जिम्मेवारी प्रति उदासिन रहने गरेको भन्ने घटनाप्रति प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ।’
अत्यधिक चलखेलकै कारण प्रहरीको एसपी र डीएसपी सरुवामा ढिलाई भएको हो। यस अगाडि इन्सपेक्टर सरुवामा पनि गृहमन्त्रीका मान्छेले निकै चलखेल गरेको चर्चा छ।
गृहमन्त्री रमेश लेखक निकटका इन्सपेक्टरले मालदार स्थानमा इन्चार्ज पाएको बताइएको छ। यस्ता सरुवामा आर्थिक चलखेल समेत हुने गरेको छ।