धनगढी : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सुदूरपश्चिम प्रदेश कमिटीले गेटा मेडिकल विश्वविद्यालयको माग राख्दै शिक्षा मन्त्री माननीय विद्या भट्टराईलाई ज्ञापनपत्र बुझाएको छ।
उक्त ज्ञापनपत्र बुझाउने क्रममा अनेरास्ववियु केन्द्रिय कमिटीका उपाध्यक्ष गोबिन्द गिरि, केन्द्रिय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज दीपक धामी लगायतका नेताहरूको उपस्थिति रहेको थियो।
ज्ञापनपत्रमा सुदूरपश्चिमका जनता लामो समयदेखि स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षा सम्बन्धी जनशक्ति उत्पादनमा पछाडि परेको र गेटा विश्वविद्यालय स्थापनाको माग गर्दै संघर्ष गर्दै आएको उल्लेख छ।
गुणस्तरीय स्वास्थ्य सेवाको अभावमा हजारौं मानिसले अकालमै ज्यान गुमाउनु परेको अवस्थाको समाधानका लागि गेटा विश्वविद्यालय स्थापना अपरिहार्य रहेको पनि उनीहरूको तर्क रहेको छ।
ज्ञापनपत्रमा, शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक संसद्को यसै सत्रबाट पारित गरिनुपर्ने, ३०० शैय्याको अस्पताल सञ्चालन गर्दै एमबिबिएस कोर्स यसै सत्रबाट सुरु गर्नुपर्ने र बाँकी संरचना निर्माणका लागि आवश्यक बजेटको व्यवस्था गरिनुपर्ने जस्ता मागहरू राखिएका छन्।
ज्ञापनपत्र बुझाउने क्रममा अनेरास्ववियुका सुदूरपश्चिम प्रदेश इन्चार्ज दीपक धामीले भने, “राज्यको वेवास्ताका कारण सुदूरपश्चिमका जनताले स्वास्थ्य क्षेत्रमा पछाडि परेका छन्। गेटा विश्वविद्यालयको स्थापनाले यस क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षा प्रदान गर्न मद्दत पुग्नेछ।”
अध्यक्ष मनोज राईले भने, “सरकारले सुदूरपश्चिमलाई अन्य प्रदेशहरूको तुलनामा विभेद गरेको महसुस भइरहेको छ। यस क्षेत्रका जनतालाई गुणस्तरीय स्वास्थ्य शिक्षा र सेवा उपलब्ध गराउन विश्वविद्यालयको स्थापना अविलम्ब गर्नुपर्छ।”
अनेरास्ववियु सुदूरपश्चिम प्रदेश कमिटीले गेटा विश्वविद्यालय स्थापनाका लागि आन्दोलन र दबाब निरन्तर राख्ने बताएको छ।