काठमाडौं: सशस्त्र प्रहरी बलमा आईजीपी र एआईजी दुवैको पदावधि घटाउने प्रस्ताव अघि बढेको छ।
गृह मन्त्रालयले सहमतिका लागि अर्थ मन्त्रालयमा पठाएको विधेयकको मस्यौदामा पदावधि चार वर्षबाट तीन वर्षमा घटाउने प्रस्ताव गरिएको छ। यसले सशस्त्र नेतृत्वमा तरंग ल्याएको छ।
यो प्रस्ताव पास भएमा सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले २०८२ को १० वैशाखमा अवकाश पाउनेछन्। त्यसपछि आईजीपीको प्रतिस्पर्धामा नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र वंशीराज दाहाल रहनेछन्।
गौतमले पनि वैशाखमै अवकाश पाउने भएकाले पौडेल र दाहालबीच प्रमुख प्रतिस्पर्धा हुने देखिन्छ। पौडेल आईजीपी भएमा दाहालले असोजमा यही प्रावधानका कारण अवकाश पाउनेछन् भने दाहाल आईजीपी भएमा पौडेलले जेठमा अवकाश पाउने अवस्था छ।
पौडेल २०७९ को जेठ तथा दाहाल २०७९ को असोजमा एआईजीमा बढुवा भएका थिए। पौडेलभन्दा दाहाल ६ महिनापछि एआईजी भएका हुन्।