धनगढी: राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक एआईजी सुदिप गिरीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको निरीक्षण गरेका छन्।
एआईजी गिरीले नेपाल प्रहरीको सेवा प्रभावकारीताको मुल्याङ्कनका लागि सुदूरपश्चिम प्रदेश प्रहरी गण, नेपाल प्रहरी बिद्यालय धनगढी र जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको निरीक्षण गरेका हुन्।
अन्तर प्रहरी कार्यालय कार्यदक्षता केन्द्रिय मूल्यांकन समितिका संयोजकसमेत रहेका एआईजी गिरीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी लगायत मातहत कार्यालयहरुको स्थलगत रुपमा निरीक्षण भ्रमण तथा अवलोकन गरेका थिए।
निरीक्षणका क्रममा एआईजी गिरीले कार्यालयका सम्पूर्ण शाखाहरु, अभिलेख व्यवस्थापन, जनशक्ति व्यवस्थापन, भौतिक पूर्वाधार व्यवस्थापन र अपराध अनुसन्धानको अवस्था तथा विश्लेषण गर्न मातहत कार्यालयहरुलाई निर्देशन दिए।
उनले प्रशासनिक गतिबिधी, सुरक्षा तथा प्रहरी कार्य, हातहतियारको अवस्था, शान्ती सुरक्षाका लागि प्रहरीबाट थालनी गरीएका नयाँ अभ्यासहरु लगायतका विषयमा पनि जानकारी लिएका थिए।
‘नेपाल प्रहरी कार्यदक्षता मुल्यांकन मापदण्ड २०८१’ समितिका अध्यक्ष रहेका एआईजी गिरीले सम्पुर्ण प्रहरी कर्मचारीहरूलाई पदीय दायित्व निर्वाह गर्न निर्देशन दिए।