काठमाडौं: घुससहित पक्राउ परेका प्रहरी हवल्दारविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका हवल्दार डुकबहादुर खड्का क्षेत्रीविरुद्ध मुद्दा दर्ता गरिएको छ।
उनीविरुद्ध आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ। आयोगको बुटवलबाट खटिएको टोलीले गत साउन ३१ गते उनलाई १५ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो।
अनुसन्धानको क्रममा रुपन्देहीको भगवानपुर नाका हुँदै भारतबाट भन्सार छलीका घरायसी सामान ल्याउन सहजीकरण गरिदिने भनी उनले सेवाग्राहीसँग घुस लिएको खुल्न आएको अख्तियारले जनाएको छ।
अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम १५ हजार रुपैयाँ बिगो कायम गरी कैद र जरिवाना हुन मागदाबीसहित मुद्दा दायर गरेको हो।
Facebook Comments Box