काठमाडौं: नेकपा एमालेका पोलिटव्युरो सदस्यसमेत रहेका नेता महेश बस्नेतले आफूमाथि लागेको मुद्दामा अदालतले गरेको निर्णयप्रति आभारी रहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया व्यक्त गर्दै बस्नेतले न्यायालयप्रति आभारी रहेको बताएका हुन्।
उनले आफूविरुद्ध कपोकल्पित घटना बनाएर परिचालित पात्रले मुद्दा दायर गरेकोमा न्यायालयले न्यायिक निर्णय गरेको जनाए। यस्तै उनले आफ्नो राजनैनिक तथा सामाजिक जीवन सकाउने खोज्नेहरुलाई अदालतको निर्णयले पराजित गराइदिएको पनि बताएका छन्।
आजमात्रै उनीविरुद्धको मुद्दा अदालतले खारेज गरिदिएको थियो। बस्नेतविरुद्ध शाेभा पाठकले हालेको मुद्दा उच्च अदालत पाटनले खारेज गरिदिएको हो। न्यायाधीश ऋषिराज भण्डारी र खडानन्द तिवारीको संयुक्त इजलाशले सो मुद्दा खारेज गर्ने निर्णय गरेको हो।
एमाले नेता बस्नेतविरुद्ध पाठकले बलात्कार, भ्रुण हत्या तथा डकैतीको आरोप लगाउँदै मुद्दा हालेकी थिइन्। उक्त मुद्दा झुटो भएको न्यायालयले पुष्टि गरेको हो।
ती महिलाले बस्नेतबाहेक अरु केही पुरुषलाई पनि ब्ल्याकमेल गरेर दु:ख दिएको र बिहे गर्दै अंश मुद्दा हाल्ने गरेको प्रहरी अनुसन्धानमा खुलेको थियो।