धनगढी: डडेल्धुरामा खोलामा बगेर एक छात्राको मृत्यु भएको छ। शुक्रबार विहान जिल्लाको पर्शुराम नगरपालिका–८ धनुचेकी करिब १५ वर्षीया छात्रा प्रतिभा धामीको खोलामा बगेर मृत्यु भएको हो।
श्री बैजनाथ माध्यमिक विद्यालयमा ट्यूसन पढ्न जाने क्रममा सोही स्थानको जम्रानी खोला तर्ने क्रममा खोलाले बगाएर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
यस्तै उता डोटीमा खोलाले बगाउँदा एक बालिका बेपत्ता भएकी छन्।
जिल्लाको केआईसिंह गाउँपालिका–४ कार्कीगाँउकी महामति चन्दकी ८ वर्षीय छोरी निर्मला चन्द बेपत्ता भएकी हुन्। गाउँको बायल बजारमा दूध बेच्न जाने क्रममा बालिकालाई बन्ने खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
त्यस्तै डोटीमा पहिरोले च्यापिएर श्रीमान–श्रीमती घाइते भएका छन्। जिल्लाको बड्डीकेदार गाउँपालिका–४ टिमुटेका ४५ वर्षीय तुलाराम जेठारा र उनकी श्रीमती ४० वर्षीया भागरथी जेठारा घाइते भएका हुन्।
हिजोराति भएको अविरल वर्षाले घरमाथि खसेको पहिरोमा पुरिएर उनीहरु घाइते भएका हुन। सुतिरहेका बेला खसेको पहिरोले दुवै जना घाइते भएको प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी भीमलाल भट्टराईले बताए। भट्टराईका अनुसार श्रीमानको अवस्था सामान्य छ भने श्रीमतीको अवस्था गम्भीर छ।