काठमाडौं: सुदूरपश्चिम घर भएका शंकरलाल चौधरी भारतको उत्तराखण्डमा इन्काउन्टर पक्राउमा परेका छन्। शनिबार चौधरीलाई इन्काउन्टर गर्दै भारतीय प्रहरीले पक्राउ गरेको हो।
सुरक्षा स्रोतका अनुसार उनी लोहाघाटको न्यायिक हिरासतबाट फरार भएका थिए। सुदूरपश्चिमस्थित कञ्चनपुरको वेदकोट नगरपालिका घर भएका उनी विपतलाल चौधरीका छोरा हुन्।
उनै चौधरी भारतीय एक महिलालाई बलात्कार गरेको मुद्दामा प्रतिवादी थिए। तर उनी हिरासतबाट भागेपछि प्रहरीले व्यापक खोजबिन थालेकोमा आज वन क्षेत्रको बिनवलगाउँमा देखा परेका थिए। त्यसपछि प्रहरीले त्यहीँ इन्काउन्टरमा पक्राउ गरेको हो।
उनको साथबाट प्रहरीले एक थान अवैध देशी पेस्तोल, दुई थान खाली कारतूस पनि बरामद गरेको बताएको छ।
उनीमाथि समात्न आएको प्रहरी टोलीमाथि गोली प्रहार गरेको र अवैध हातहतियार राखेको अभियोग पनि लागेको छ। अहिले सो अभियोगको मुद्दा चम्पावतको रेठा साहिब प्रहरी चौकीमा दर्ता भएको छ।
उनले एक वर्ष अगाडी कोतवाली चम्पावत इलाकाको चोकी चाल्ची अन्तर्गत गाउँ धरमपुर क्षेत्रमा एक महिलालाई बलात्कार गरेका थिए। त्यसपछि सो सम्बन्धमा चम्पावत पुलिस स्टेशनमा एफआईआर दर्ता भएको थियो।
त्यसपछि उनी भारतीय कानुनबमोजिम अदालतको आदेशबाट न्यायिक हिरासत तथा लोहाघाट कारागारमा पठाइएका थिए। त्यसपछि उनी त्यहाँबाट भागेका थिए।
उनी भागेपछि उनलाई प्रहरीले खोजतलास गर्ने क्रममा वन क्षेत्रमा देखिएका थिए। त्यसपछि प्रहरी टोलीले उनलाई समात्न खोज्दा चौधरीले प्रहरी टोलीमाथि गोली चलाउन थालेको बताइएको छ।
त्यसपछि प्रहरी टोलीले आत्मरक्षाका लागि भन्दै उनलाई गोली हानेको थियो। उनको खुट्टामा गोली हानेर प्रहरीले उनलाई समातेको हो।