धनगढी: बझाङको जयपृथ्वी राजमार्गअन्तर्गत सेती नदीमा ट्याक्टर खसेको छ। दुर्गाथली गाउँपालिका–२ स्थित मौरीबगरबाट झननातर्फ गइरहेको ट्याक्टर आज बिहान नदीमा खसेको हो।
ट्याक्टरमा सवार पाँच जनामध्ये दुई जना बेपत्ता भएका थिए। जाजरकोटको भेरी नगरपालिका–२ का २० वर्षीय सञ्जय बुढा र लोकेन्द्र घर्ती बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय, बझाङका प्रहरी निरीक्षक किशोर जोशीले बताएका थिए। अहिले बुढाको शव फेला परेको छ।
त्यस्तै, त्रिवेणी नलगाड नगरपालिका–१ का १५ वर्षीय हेमराज विक, २१ वर्षीय तपेन्द्र विक र १३ वर्षीय निरज विक घाइते छन्। उनीहरुको दाँहिने हात, कम्मर र खुट्टामा चोट लागेको जोशीले जानकारी दिए।
उनका अनुसार नदीमा खसेको ट्याक्टर भेटिएको छैन्। बेपत्ता यात्रु र ट्याक्टर खोज्न कार्यालयका प्रहरी नायव उपरीक्षक युवराज भण्डारीको कमाण्डमा सात जना, ईलाका प्रहरी कार्यालय, थलाराका प्रहरी नायव निरीक्षक रामसिंह विष्टको कमाण्डमा चार जना र प्रहरी नायव निरीक्षक पदम बलायरको कमाण्डमा चार जनाको टोली खटिएको छ।