काठमाडौं: सोमबार सहकारी छानबिनसम्बन्धी संसदीय विशेष समितिले ९९ दिन लगाएर तयार पारेको प्रतिवेदन बुझायो।
समितिले अवैध तरिकाले सहकारीमा जम्मा गरेका बचतकर्ताको रकम अपचलन गरिएका तीन दर्जन सहकारीमाथि छानबिन सकेर प्रतिवेदन बुझाएको हो।
मूख्यतः नेपाली कांग्रेस प्रतिपक्षमा रहँदा ओखलढुंगाका गितेन्द्र राई (जीबी) ले सञ्चालन गरेका पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौैंको स्वर्णलक्ष्मी, चितवनको सहारा, वीरगन्जको सानो पाइला सहकारीको रकम अपचलन प्रकरणमा तल्कालीन गृहमन्त्री रवि लामिछानेसमेत संलग्न रहेको भन्दै संसदीय विशेष छानबिन समितिको माग राखेको थियो।
संसदीय छानबिन समितिको माग राख्दै कांग्रेसले त्यतिबेला सदनसमेत अवरोध गर्यो।
कांग्रेसका मागअनुसार, तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले एमाले सांसद सूर्यबहादुर थापा क्षेत्रीको नेतृत्वमा जेठ १५ मा समिति बनाएको हो।
समितिले ९९ दिनमा समितिले प्रतिवेदन बुझाएको हो। तर, समितिले प्रतिवेदन बुझाएपछि भने कांग्रेसले आरोप लगाएजस्तो जीबी राईले सञ्चालनमा ल्याएका कुनै पनि सहकारीमार्फत् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको कुनै संलग्नता नदेखिएको भन्दै रास्वपाले खुसी व्यक्त गरेको छ।
यद्धपी समितिले भने सहकारी ठगीमा जीबी राईसहित कुमार रम्तेल र सहकारीकै रकम अपचलन प्रकरणमा राईले नै सञ्चालन गरेको गोर्खा मिडिया ग्रुप अन्तर्गत ग्यालेक्सी टेलिभिजनका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक पूर्वडीआईजी छविलाल जोशीलाईसमेत कारबाही गर्न सफारिस गरेको छ।
लामिछाने र जोशीको हकमा छानबिन समितिले भनेको छ,‘‘सहकारीबाट कम्पनीमा आएको रकमको हकमा रवि र छवि जिम्मेवार रहेकोहुँदा प्रचलित कबानुन बमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने।”
लामिछाने र जोशी सञ्चालक समितिमा समेत थिए।
लामिछाने ग्यालेक्सीमा सेयर सदस्य, सञ्चालक सदस्य र प्रबन्ध निर्देशक समेत हुन्। त्यस्तै पूर्वडीआईजी जोशी सेयर सदस्य र सञ्चालक सदस्य हुन्।
रवि र छविबाहेक हाल फरार रहेका सूर्यदर्शन सहकारीका थानबहादुर बुढा मगर, सहारा सहकारी चितवनका दिनेश रोक्का, सुप्रिम सहकारी बुटवलका सागर केसी, सानो पाइला वीरगन्जका तस्वीरण खातुन र स्वर्णलक्ष्मी काठमाडौंका भूपेन्द्र राईलाई तत्काल कानुनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ।
संसदीय छानबिन समितिले सहकारीको रकम अपचलन गरेको विषयमा रवि र छविलाई समेत प्रचलित कानुन अनुसार कारबाही गर्नुपर्ने सिफारिस गरेपछि प्रहरीले उनीहरुलाई निगरानीमा राखेको छ।
हालसम्म छविलाल जोशीबारे कुनै पनि प्रहरी कार्यालयमा उजुरी नपरे पनि रविविरुद्ध भने पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा पुरक जोहेरी नै परेको थियो।
त्यो बाहेक संसदीय छानबिन समितिले नै दुवैजनालाई कारवाही सिफारिस गरेपछि उनीहरुलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने अवस्थामा प्रहरी पुगेको स्रोत बताउँछ। त्यस्तै छविलाल जोशीमाथि पनि त्यसैगरी अनुसन्धान थाल्ने प्रहरीले जनाएको छ।