काठमाडौं: संसदीय विशेष समितिको अनुसन्धानपछि सहकारीको रकम अपचलनमा कारबाही सिफारिसमा परेकामध्ये जिबी राई, रवि लामिछाने र छविलाल जोशीमध्ये छवि आज पक्राउ परेका छन्। गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्ष एवम् पूर्व डीआईजी जोशीलाई काठमाडौं प्रहरीले पक्रेको छ।
प्रहरीले जोशीको शंखमूलस्थित घरबाट गत माघमा पोखराको सूर्यदर्शन सहकारीसँग सम्बन्धित कागजात, कम्प्युटर बरामद गरेको छ। उनकै घरमा जीबीको नेचर हर्ब इन्टरनेसनल प्रालि खोलिएको थियो।
विभिन्न सहकारी संस्थाको रकम अपचलनमा थप कारबाहीका लागि प्रक्रिया अघि बढाउन संसदीय विशेष छानबिन समितिले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्न सरकारले सम्बन्धित मन्त्रालयहरुलाई निर्देशन दिएपछि जोशी पक्राउ परेका हुन्।
जोशीलाई जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा काठमाडौं प्रहरीले पक्राउ गरेको जनाइएको छ।
कारबाही सिफारिस भएकामध्ये गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई फरार छन्। उपाध्यक्ष जोशी पक्राउ परेकाले अब पालो स्वतः रविको रहेको बताइन्छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधान एवम् गृहमन्त्री लामिछाने सांसद रहेकाले उनलाई पक्रेको जानकारी संविधानतः तत्काल सभामुखलाई दिनुपर्ने हुन्छ।
संविधानको धारा १०३ उपधारा ६ बमोजिम संसद अधिवेशन नभएको अवस्थामा सांसदलाई फौजदारी अभियोगमा पक्राउ गर्दा तत्काल सभाका अध्यक्षलाई जानकारी गराउनुपर्ने व्यवस्था छ।
आज पक्राउ परेका पूर्व डिआईजी जोशीको शंखमूलस्थित घरबाट प्रहरीले गत माघमा पोखराको सूर्यदर्शन सहकारीसँग सम्बन्धित कागजात, कम्प्युटर बरामद गरेको थियो। उनकै घरमा जीबीको नेचर हर्ब इन्टरनेसनल प्रालि खोलिएको थियो।
सूर्यदर्शनलगायत बुटवल, चितवन, वीरगञ्ज र काठमाडौंका विभिन्न सहकारीबाट बटुलिएको ६५ करोड रुपैयाँ गोर्खा मिडियामा लगानीको नाममा जिबी, रवि, छवि र कुमारसहितले ब्रम्हलुट गरेका थिए।
यसैबीच सहकारी रकम दुरुपयोग गरेको आरोप लागेका काँग्रेस उपसभापति, सांसद तथा पूर्वमन्त्री धनराज गुरुङलाई पनि पक्रेर अनुसन्धान थाल्ने तयारी प्रहरीको रहेको बताइन्छ।
उनीमाथि मितेरी सहकारी, ललितपुरको १४ करोड ८१ लाख रुपैयाँ तत्कालीन श्रीमती ज्योति गुरुङसँग मिलेर हिनामिना गरेको आरोप छ। संसदीय छानबिन विशेष समितिले गुरुङमाथि पनि थप अनुसन्धान गर्न सुझाव दिएको छ।