काठमाडौं: काठमाडौं प्रहरीभित्र ५० लाख काण्डको छानबिन जारी छ। सेटिङ गरेर ५० लाखमा थुनुवा भगाएको प्रकरणमा छानबिन जारी राखिएको हो।
स्रोतका अनुसार क्रिप्टोकरेन्सी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरी दुई दिन थुनामा राखेर ५० लाख रुपैयाँ बिचौलियामार्फत असुलेर छाडिएको थियो। सोही घटनामा अहिले इन्स्पेक्टरसहित केही प्रहरीको मिलेमतो तथा शंकास्पद भूमिका देखिएको छ।
जसमा काठमाडौं परिसरका इन्स्पेक्टर प्रतिक सिंह पनि मुछिएका छन्। उनको कमजोरीका कारण सो घटना भएको उपत्यका प्रहरी कार्यालयले गरेको छानविनले देखाएको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसपी प्रजित केसीको नेतृत्व यस विषयमा इन्स्पेक्टर सिंहको समेत कमजोरी औंल्याएर प्रतिवेदन बुझाएको स्रोतले जनाएको छ।
सिंहको मातहत काम गर्ने हवल्दार गणेश खड्का क्यानडा बस्ने आशिष आचार्यलाई क्रिप्टो कारोबारको आरोपमा पक्राउ गरेका थिए। नेपाल आएको बेला आचार्य पक्राउ परेका थिए।
उनलाई दुई दिन थुनामा राखेपछि प्रमाण नभेटिएको भन्दै छाडिएको थियो। यस क्रममा आचार्यकी दिदीले प्रहरीलाई बुझाउन भनेर बिचौलिया तेज तामाङलाई ५० लाख रुपैयाँ बुझाएकी थिइन्।
सो विषयमा पीडितकी दिदीले प्रहरी अधिकारीलाई गुनासो गरेपछि छानबिन सुरु हुँदा लेनदेन पुष्टि भएको हो।
हवल्दार खड्का र तामाङबीच पुरानो चिनजान भएकाले पैसा असुल्ने योजनाअनुसार नै उनलाई पक्राउ गरेको खुलेको छ। तामाङ फरार रहेकाले उनले ५० लाख रुपैयाँ क–कसलाई बुझाए भन्ने खुल्न सकेको छैन।
विस्तृत अनुसन्धान नै नगरी छाडिएकाले यस घटनामा अन्य प्रहरी अधिकारीको समेत मिलेमतोको आशंका गरिएको थियो। स्रोतका अनुसार तामाङसँग परिसरकै इन्टेलिजेन्समा काम गर्ने सई माधव थापा मगरको समेत सम्पर्क छानबिन समितिले पत्ता लगाएको थियो।
तामाङ र उनीबीच कुराकानी भएको खुलेको छ। सई मगरको मोबाइल परीक्षणका लागि प्रहरीको फरेन्सिक ल्याबमा पठाइको छ।
पक्राउ परेका आचार्य भने क्यानडा पुगिसकेका छन्।