धनगढी: कैलालीमा दुई महिनाको अवधीमा लागुऔषध सम्बन्धी मुद्दामा ८१ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउन र भदौमा लागुऔषध सम्बन्धीका ५३ मुद्दामा ८१ जनालाई पक्राउ गरेर मुद्दा चलाइएको हो।
आइतबार जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कैलालीका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर बिष्टले लागुऔषधको कारोबार तथा सेवनमा संलग्न ८१ जनालाई पक्राउ गरि मुद्दा चलाइएको जानकारी दिए। बिष्टले पक्राउ पर्नेमा दुई जना महिला र ७९ जना पुरुष रहेको बताए।
उनकाअनुसार साउनमा दर्ता भएका ३३ वटा मुद्दामा ४७ जना र भदौमा दर्ता भएका २० मुद्दामा ३४ जनालाई पक्राउ गरिएको थियो। उनीहरुको साथबाट विभिन्न खालका लागुऔषध समेत बरामद गरिएको छ।
भदौमा मात्र २० किलो ८९९ ग्राम चरेस, साढे १५ ग्राम खैरो हेरोईन, १९ क्याप्सुल ट्रमाडोल बरामद गरिएको एसपी बिष्टले बताए। उनकाअनुसार साउनमा ३८ ग्राम ३७० मिलीग्राम चरेस, १९ ग्राम ९३० मिलीग्राम खैरो हेरोईन, १२ वटा फेनागन एम्पुल, ५ ट्यावलेट नाइट्रोभेट लगायतका लागुऔषध बरामद गरिएको छ।