काठमाडौं: काठमाडौंमा एक महिलाले पत्रकारको आवरणमा अनेकन काम गर्दै आएको खुलेको छ। बैतडीको सिगास गाउँपालिका ८ घर भई काठमाडौंको तारकेश्वर नगरपालिका ३ बस्ने २३ वर्षीया स्मारिका बोहोराले काठमाडौंमा उपद्रो मच्चाएकी हुन्। स्रोतका अनुसार उनले पहिलोपटक भारतको पश्चिम बंगाल घर भई २८ वर्षदेखि नेपालमा बस्दै आएका ४८ वर्षीय बुद्धदेव मैतीको पसलमा काम गर्ने गरेकी थिइन्।
नेकपा विप्लव काठमाडौंका सक्रिय कार्यकर्ता राम बोहोराकी छोरी उनले ज्वेलर्समा ‘सेल्स गर्ल’ का रूपमा दुई वर्ष काम गरिन्। गत वैशाखमा बुद्धदेव पसल बन्द गरेर कलकत्ता गएका थिए। सोही क्रममा स्मारिकाले सटरको ‘डुप्लिकेट’ चाबी बनाइन्। यता, हम्मरमार्फत सेफको चाबी फुटाएर नगद र गहना गरी ६७ लाख हात पारिन्। त्यसो गर्दा मान्छे बोलाएर सिसीटिभी क्यामेरासमेत बन्द गरेको पाइयो। फर्किएपछि मात्र बुद्धदेवले एक कर्मचारीमार्फत आफ्नो पसलमा चोरी भएको थाहा पाए। स्मारिकाले कोठाबाट समेत रकम निकालेको बुद्धदेवको भनाइ छ।
बुद्धदेवको न्यूरोडस्थित एउटै घरमा पसल, कारखाना र कोठा छ। त्यसपछि बुद्धदेवले लगत्तै जिल्ला प्रहरी परिसर, काठमाडौंमा उजुरी दिए। त्यसपछि स्मारिकाविरुद्ध चोरीको मुद्दा अदालतमा विचाराधीन छ। सो क्रममा आफ्नै पसलमा काम गर्ने कर्मचारीले लाखौंको क्षति पुर्याएर उल्टै तिनले विभिन्न मुद्दा हालेर बुद्धदेवलाई दुःख दिइरहेकी छिन्। राजनीतिक पहुँचको आडमा स्मारिका खुलेआम हिँडिरहँदा उनलाई भने अदालतको चक्कर काट्दाकै हैरानी छ। बुद्धदेव ‘सिंगल’ हुन्। विवाह नै नभएको व्यक्तिलाई श्रीमान् भन्दै स्मारिकाले सम्बन्धविच्छेदको मुद्दा ०८० साउन २० गते हालिन्। विवाहअगाडि आफू एभिन्यूज टेलिभिजनमा समाचार वाचिका रहेको र श्रीमान्ले काम छुटाइदिएको उनको आरोप छ। आफूमाथि घरेलु हिंसासमेत गरेको उनले बताएकी छन्। तर न्यायाधीश उत्तम सिलुवालले सो मुद्दा खारेज गरिदिएका थिए।
त्यसबीच उनी ६ दिन प्रहरी हिरासतमा पनि बसिन्। पुर्जी जारी भएपछि उनलाई प्रहरी वृत्त, सबालाजुको सहयोगमा ओशो तपोवनबाट समातेर अदालतले तारिखमा छोडेको थियो। स्मारिकाले आफूलाई कहिले महिला उद्यमी त कहिले सञ्चारिका भनेर चिनाउँदै आएकी छिन्। केही समय बागमती टेलिभिजनमा संलग्न उनी अहिले ग्लोबल टेलिभिजनमा छिन्। कांग्रेससम्बद्ध पत्रकार बताउने उनी नेताहरूसँग तस्बिर खिचाएर सामाजिक सञ्जालमा सेयर गरिरहेकी हुन्छिन्। उनै पत्रकारले दु:ख दिएपछि बुद्धदेवले प्रहरी र नेपालस्थित भारतीय राजदूतावासमा सुरक्षाका निम्ति निवेदन दिएका छन्। स्मारिकाले भने यसविषयमा आफू केही नबोल्ने बताउदै आएकी छन्।