धनगढीः बझाङको लाइफलाइन सडकका रुपमा रहेको जयपृथ्वी राजमार्ग फेरि अवरुद्व भएको छ। बैतडीको खोड्पेदेखि बझाङ जोड्ने उक्त राजमार्गअन्तर्गत जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–१ सुङगाला नजिक बालुवाटारमा पहिरो खसेपछि अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक युवराज भण्डारीका अनुसार सुख्खा पहिरोका कारण राजमार्ग अवरुद्ध भएको हो। ‘मंगलाबार बेलुका वर्षा भएको थियो,’ उनले भने, ‘वर्षा रोकिएपछि आएको पहिरोले राजमार्ग अवरुद्ध भएको छ। पहिरो पन्छाउनका लागि सडक डिभिजन कार्यालय बैतडीलाई आग्रह गरेका छौं।’
पहिरोले राजमार्ग अवरुद्ध भएपछि बझाङ जाने र बझाङबाट अन्यत्र आउने यात्रुहरु अलपत्र परेका छन्। बझाङ जोड्ने एकमात्र राजमार्ग अवरुद्ध भएपछि चाडपर्वका लगि घर फर्किनेहरु सबैभन्दा बढी समस्यामा परेका छन्। यसअघि भदौ अन्तिम साता पनि सोही ठाउँ लगायत राजमार्गका आधा दर्जन स्थानमा पहिरो खसेपछि यातायात सेवा झण्डै एक साता बन्द भएको थियो।