धनगढीः कञ्चनपुरमा चट्याङ लागेर एकैदिन दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको हो। कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश जोशीका अनुसार दोधारा चाँदनी नगरपालिका–६ बस्ने ३४ वर्षीय यमबहादुर सुनारको मृत्यु भएको छ।
‘बुधबार मध्यान्न १२ बजे सोही नगरपालिकाको भट्टीनालास्थित बजारबाट घर जाने क्रममा पानी परेपछि यमबहादुर र सोही ठाउँका ३६ वर्षीय जगते सुनार रुखमुनि बसेका थिए,’ उनले भने, ‘सोही क्रममा चट्याङ लागेर दुबै जना घाइते भएका थिए। उपचारका क्रममा यमबहादुरको एक बजे मृत्यु भएको छ।’
यस्तै लालझाडी गाउँपालिकामा पनि चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। गाउँपालिकाको वडा नम्बर १ नौरंगा बस्ने २८ वर्षीया हिरामति रानाको मृत्यु भएको हो।
बिहान साढे १० बजे चट्याङ लागेकोमा उपचारका क्रममा १२ बजे धनगढीको निसर्ग अस्पतालमा मृत्यु भएको डिएसपी जोशीले बताए । बारीमा काम गर्ने क्रममा चट्याङ परेको हो।v