काठमाडौं: नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधिबाट अवकाशमा जानबाट रोक्न माग सर्वोच्च अदालतमा रिट दायर गरेका प्रहरीले आफ्नो निवेदन फिर्ता गरेका छन्।
नेपाल प्रहरीका एसएसपी जीवनकुमार श्रेष्ठसहित २१ प्रहरी अधिकृतले दायर गरेको रिट रिटकर्तामध्येका डीएसपी गोविन्द पन्थीको निवेदनमा बुधबार फिर्ता भएको हो।
उनीहरूले दायर गरेको रिटमा भदौ ६ गते न्यायाधीश हरिप्रसाद फुयालले प्रहरीहरूको पक्षमा ३० वर्षे सेवा अवधिबाट अवकाशमा कसैलाई पनि नपठाउन अन्तरिम आदेश जारी गरेका थिए।
यसपछि गृह मन्त्रालयले भ्याकेट दिएको थियो। सरकारको भ्याकेट स्वीकार गर्दै भदौ १४ मा न्यायाधीशद्वय विनोद शर्मा र शारंगा सुवेदीको संयुक्त इजलासले अन्तरिम आदेश खारेज गरिदिएको थियो।
भदौ १६ गते ३० वर्षे सेवा अवधिकै कारण ९० जना प्रहरीहरु अवकास भइसकेका छन्। अवकाशमा गइसकेपछि अब अन्तिम सुनुवाइमा पनि आफ्नो पक्षमा फैसला हुने सम्भावना नदेखेपछि उनीहरूले निवेदन फिर्ता गरेका हुन्।
रिट फिर्ताका लागि प्रहरीहरूले निवेदन दिएपछि सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउत र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले बुधबार निवेदन फिर्ता हुने आदेश गरिदिएको छ।
रिट फिर्ता लिनेमा तत्कालीन एसएसपीहरूमा जीवनकुमार श्रेष्ठ, रेवती ढकाल, दिनेशराज मैनाली, बेलबहादुर पाण्डे, बेलबहादुर पाण्डे र रवीन्द्र रेग्मी छन्। एसपीमा कृष्ण प्रसाईँ, लक्ष्मीराज अधिकारी, प्रेमबहादुर बस्नेत, राजेन्द्रबाबु रेग्मी, अवदेश विष्ट क्षेत्री र नरेन्द्रकुमार कार्की छन्।
त्यस्तै तत्कालीन डिएसपीहरूमा श्रीराम भण्डारी, भोजराज पाण्डेय, गोविन्द पन्थी, दलराम टमटा, अनिलकुमार उप्रेती, सुजितकुमार ओझ र जयराम वन्त छन्। इन्स्पेक्टरहरू जगत दमाई, नरपति भट्ट र मेघनाथ चापागाई छन्।
यसअघि नै उमेर हदका कारण हुने अवकाश रोक्न माग गर्दै रिट दायर गरेका एआईजी श्यामलाल ज्ञवालीले पनि निवेदन फिर्ता गरिसकेका छन्। उनी पनि भदौ २६ गते नै अवकाश भइसकेका छन्।