धनगढीः बलात्कार सम्बन्धी मुद्दामा फसाइदिने भन्दै एक जना व्यक्तिसँग लेनदेन गरेको आरोप लागेपछि इन्स्पेक्टर बिनुकुमारी शाहीलाई निलम्बन गर्न सिफारिस पनि गरिएको छ। प्रहरी प्रभाग, भैंसेपाटीकी प्रमुख इन्स्पेक्टर शाहीको जिम्मेवारी खोखिएकोमा प्रहरी परिसर ललितपुरले निलम्बन प्रक्रिया पनि अघि बढाएको हो।
ललितपुर प्रहरीले उनलाई निलम्बनका लागि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सिफारिस गरेकोमा रानीपोखरीले हेडक्वार्टर नक्साल सिफारिस गरेको छ। अब हेडक्वार्टरले गृह मन्त्रालयलाई सिफारिस गर्ने छ।
गृहले निलम्बन गरेपछि बिनुकुमारी यो घटना छानबिन अवधिभर निलम्बनमा पर्नेछिन् भने आरोप पुष्टि भएको अवस्थामा मुद्दा नै लाग्ने छ।
उपत्यका प्रहरी कार्यालयको निर्देशनअनुसार, यो प्रकरणमा छानबिन गर्न जिल्ला प्रहरी परिसर, ललितपुरका डीएसपी नरहरि अधिकारीको नेतृत्वमा ७ सदस्यीय छानबिन समिति बनेको छ।
ललितपुर प्रहरीका अनुसार, इन्स्पेक्टर शाहीले एक व्यवसायीलाई नियन्त्रणमा लिएर ३० लाख रुपैयाँ लेनदेन गरेको आरोप छ। उनले त्यो रकम आफन्तको नाममा रहेको खातामा हाल्न लगाएको आरोप छ।
यो घटनामा संलग्न केहीलाई ललितपुर प्रहरीले नियन्त्रणमा लिइसकेको समेत बताइएको छ।