धनगढी: नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा पूर्वमन्त्री रन्जिता श्रेष्ठको मुटुको शल्यक्रिया गरिएको छ। सो पार्टीका संरक्षक तथा रन्जिताका पति रेशमलाल चौधरीले हिजो सामाजिक सञ्जालबाट पत्नीको अपरेसन भएको जानकारी गराएका हुन्।
अपरेसन सफलतासँगै उनले पत्नीको स्वास्थ्यलाभको पनि कामना गरेका छन्। ‘हाम्रो नागरिक उन्मुक्ति पार्टीको संस्थापक अध्यक्ष तथा मेरो श्रीमती रन्जिता श्रेष्ठ चौधरीलाई मुटु अपरेसन कक्षमा लगिएको छ’, रेशमले लेखेका छन् ‘उहाँको शीघ्र स्वास्थ्य लाभको कामना। अपरेसन सफल होस्।
पत्नीको अपरेसन हुँदै गरेको जानकारी दिएका रेशमले यसबारे थप जानकारी गराएका छैनन्। तर, रन्जितालाई बोलाउन राजनीतिक दलका नेता नआएको आसयको गुनासो गर्दै भनेका छन्, ‘अस्ति तिम्रो स्टाटस आएको थियो, भकारी रित्तिएपछि मुसाले त घर छोडेर जान्छन् आमा ! तिमी आफन्तको कुरा गर्छौ। संजोग आज यस्तै भयो– तिम्रो मुटु अपरेसन कक्ष बाहिर हामी आफन्त सिवाय कोही छैनन्।’
गत आम निर्वाचनबाट एकाएका उदाएको नागरिक उन्मुक्ति पार्टीमा सरकारको विषयलाई लिएर रेशम र रन्जिताबीच लामो समयदेखि किचलो हुँदै आएको थियो। तर पछिल्लो समय उनीहरुले मिलेर जाने निर्णय गरेका छन्।