धनगढीः साइकल तथा मोटरसाइकलमा राखेर माछा बिक्री वितरणमा प्रहरीले अवरोध गरेपछि कैलाली जिल्लास्थित माछा व्यवसायी प्रभावित भएका छन्।
प्रहरीले विभिन्न कानुनी प्रावधान देखाएर साइकल तथा मोटरसाइकलको पछाडि क्यारेटमा माछा राखेर बिक्री वितरण गर्न दिएपछि व्यवसायी प्रभावित भएका हुन्।
माछा व्यवसायी संघ कैलालीका अध्यक्ष रामप्रसाद चौधरीले आफूहरू दशकौँदेखि माछा उत्पादक किसानको पोखरीबाट उपभोक्तासम्म पुर्याउँदै आएको बताउँदै सो कार्यमा प्रहरीले रोक लगाउने, जरिवाना लिने जस्ता कार्य गर्दै आएको दुखेसो सुनाए। देशमा व्याप्त बेरोजगारीका कारण आफूहरूको पेसा नै माछा बिक्री वितरण गर्ने र यही पेसाबाटै जीविका चलाउँदै आएकाले प्रहरीको अवरोधले आफूहरूको रोजीरोटीमै धक्का पुगेको उनको भनाइ छ।
यसैबिच ट्राफिक प्रहरीले निरन्तर दुःख दिइरहेको बताउँदै उनीहरूले शुक्रबार सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाको ध्यानाकर्षण गराएका छन्। उनीहरूले साइकल तथा मोटरसाइकलमा राखेर निर्बाध रूपमा माछा बिक्री वितरण गर्न पाउनुपर्ने माग राखेका हुन्।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरीक्षक सुरज बहादुर खड्काले साइकलमा भन्दा मोटरसाइकल सवारी प्रायोजनको लागि रहेकोले कानुन अनुसार त्यसमा मालसामान राखेर बिक्री गर्न नपाइने बताए।