धनगढीः कैलालीको धनगढीबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन्, भने एक जना फरार भएका छन्।
धनगढी उपमहानगरपालिका–५ शिवनगरबाट लागुऔषध ब्राउनसुगरसहित धनगढी–१ का २४ वर्षीय भरतराज जोशी पक्राउ परेका छन्। जोशी ८० मिलिग्राम लागुऔषधसहित शुक्रवार राति पक्राउ परेका हुन। वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।
यस्तै धनगढी–१७ का २३ वर्षीय पप्पु राना पक्राउ परेका छन्। रानालाई प्रहरीले १३० मिलिग्राम लागुऔषधसहित पक्राउ गरेको हो। साथै थप अनुसन्धानको क्रममा धनगढी–५ का बिनय थापाको घरबाट ७ सय ४० मिलिग्राम लागुऔषध बरामद गरिएको छ। बिनय भने फरार रहेका छन्। उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
यस्तै कञ्चनपुरबाट भारतीय नागरिकसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको पुनर्वास नगरपालिका–११ डोकेबजारबाट लागुऔषध (खैरो हेरोइन) सहित दुई जना पक्राउ परेका छन्।
भारतको लखिमपुरका २० वर्षीय विकाश पाल र एक अर्का किशोरलाई १ ग्राम १ सय ७० मिलिग्राम लागुऔषधसहित प्रहरीले पक्राउ गरेको हो। उनीहरुलाई प्रहरी चौकी परासनबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।