काठमाडौं: नेपाल प्रहरीका एक डीआईजीको भोलि जागिर सकिने भएको छ। डीआईजी यज्ञविनोद पोखरेल भोलिदेखि ५६ वर्षे उमेरहदका कारण अनिवार्य अवकाशमा जान लागेका हुन्।
उनी अवकाशमा गएपछि नेपाल प्रहरीमा एक पाँच डीआईजीको दरबन्दी रिक्त हुनेछ भने एक एआईजीको दरबन्दी यस अगाडिदेखि नै रिक्त छ।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार दसैंभन्दा अगाडि बढुवाको सम्भावना छैन। दसैंपछि मात्र रिक्त पदहरुमा बढुवा गरेको बताइएको छ।
पोखरेलको कारबाही के हुन्छ ?
भोलि घर जान लागेका डीआईजी पोखरेल उनै प्रहरी अधिकारी हुन्, जो हालै मधेस प्रदेशबाट तानिएका थिए। प्रदेशका हाकिम रहेका बेला तस्करबाट रकम लिएको भन्दै उनलाई गृहमन्त्रालयले हेडक्वाटर तानेर छानबिन अघि बढाएको थियो।
त्यसबेला पोखरेललाई प्रदेश समन्वय विभागमा सरुवा गरेर उनीमाथि तराईका तस्कर र बिचौलियाबाट अनुचित लाभ लिएको भन्दै छानबिन थालिएको थियो।
तर उनी भोलि घर जाने समय आइसके पनि छानबिनको कुनै निष्कर्ष तथा कारबाही प्रक्रिया अगाडि बढेको देखिदैन। घर जाने बेला स-सम्मान पठाउने उदेश्यले उनीमाथिको कारबाही रोकिएको स्रोतको दाबी छ।
उसो त उनले खटाएका घुमुवालाई समेत झिकाएर प्रहरी प्रधान कार्यालयले विस्तृत छानविन गरेको थियो। छानविनमा उनी दोषी देखिएको पनि बताइएको थियो।
तर उनलाई कारबाही नगरी घर पठाउन लागिएको स्रोत बताउँछ। उनलाई मधेसबाट तानेपछि अहिले त्यहाँ लीलामणि आचार्य पठाइएका छन्।
यस्तै यस अगाडि एक एआईजी श्यामलाल ज्ञवालीलाई पनि कारबाही गर्ने भन्दै नगरी घर पठाइएको थियो।
र, यो पनि: डिआईजी आचार्यलाई लगातार कमाण्ड