धनगढीः जुवातास भइरहेको सूचना पाएपछि भीमदत्त नगरपालिका–११ पुगेको कञ्चनपुर प्रहरीले जुवाडे छोडेको छ। आइतबार राति जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक जमुना जोशीको कमाण्डमा प्रहरी टोली जुवा भइरहेको स्थान चौकीसत्ता भन्ने स्थानमा पुगेको थियो।
जुवामा वडा सदस्य कृष्ण बिष्ट र मोहन जैशी पनि थिए। उनीहरुको साथमा १२ हजारभन्दा बढी रकम थियो। तर, वडा अध्यक्ष प्रकाश थापा आएपछि सबैलाई छोडिएको समाचार स्रोतले बतायो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक उमेशराज जोशीका अनुसार जुवामा चार जना खेल्ने र चार जना हेर्ने मान्छे थिए। उनले सामान्य खालको जुवा भएकाले सम्झाइबुझाई छोडिएको बताएका छन्।
कञ्चनपुरकी लेडी इन्सपेक्टर जोशीले जुवाडे छोडेकोमा कैलालीकी इन्सपेक्टरले भने नियम तोडेको पाइएको छ। कैलालीकी प्रहरी निरीक्षक कल्पना बास्ताकोटीले ट्राफिक नियम उल्लघंन गर्ने गरेको पाइएको हो।
हालै केही स्थानीयले उनीसहित तीन जना प्रहरी कर्मचारीलाई नै एक स्कुटरमा तीन जना सवार भएको देखेका थिए। उनीहरूलाई भाटभटेनी आसपासमा त्यस्तो अवस्थामा देखिएको हो।