काठमाडौं: नेपाल प्रहरीका डिआइजी यज्ञबिनोद पोखरेलले अवकाश पाएका छन्।
निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले सोमबार उनको बिदाई गरेका छन्।
बिदाइ समारोहलाई सम्बोधन गर्दै निमित्त प्रहरी महानिरीक्षक राईले सेवा निवृत्त भएका प्रहरी नायव महानिरीक्षक पोखरेलले संगठनबाट सुम्पिएको जिम्मेवारी इमानदारीताका साथ सम्पन्न गरेको उल्लेख गरे।
यद्यपी पोखरेल खातामा स्रोत नखुलेको पैसा भेटिएपछि गत महिना विवादमा परेका थिए। त्यसपछि उनलाई जिम्मेवारीमुक्त गरेर हेडक्वाटर तानिएको थियो। त्यसक्रममा उनीमाथि छानबिन पनि थालिएकोमा अहिलेसम्म छानबिन सकिएको छैन।
छानबिनकै क्रममा उनलाई दुई साताअघि मधेस प्रदेशको प्रहरी प्रमुखबाट हटाइएको थियो।
२०५२ साल कात्तिक २७ गते प्रहरी निरीक्षक पदमा भर्ना भएका पोखरेल उमेरहदका कारण अवकाश पाएका हुन्। उनको अवकाशसँगै नेपाल प्रहरीका एआइजीको एक र डिआइजीको पाँच पद रिक्त भएका छन्।
असोज २१ सम्म कार्यसम्पादन मूल्याङकन बुझाउने समय भएकाले त्यसपछि बढुवा गर्ने गृह मन्त्रालयको तयारी छ। पोखरेलको बिदाई कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो।
र, यो पनि: भ्रष्टको आरोप लागेका डीआईजीको जागिर भोलि सकिने, कारबाही के हुन्छ ?