डडेल्धुरा– प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुरालाई प्रदेशको राजधानी बनाउन सकिने बताएका छन् । मंगलबार डडेल्धुराको सदरमुकाम अमरगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
पहिले डडेल्धुरामा पूर्वाधार नभएका कारण धनगढीमा अस्थायी राजधानी बनाउने निर्णय गरिएको भन्दै उनले कांग्रेसलाई जिताएमा दुई वर्षपछि प्रदेश राजधानी डडेल्धुरामा ल्याउन सकिने बताए ।
‘पहिले डडेल्धुरामा र डोटीमा संरचनाहरु नभएकाले राजधानी बनाउन सकिएन,’ उनले भने, ‘अब संरचनाहरु निर्माण गर्छौ । त्यसपछि प्रदेश राजधानी पनि सार्न सकिन्छ।’ डडेल्धुरामा विमानस्थल र सिटीहल निर्माण गर्ने बताउँदै प्रदेशको राजधानी पनि डडेल्धुरा नै बनाउने उनको दाबी छ।
‘कांग्रेसका सबै उम्मेदवारलाई जिताउनुस्, बिजुली पनि ल्याइन्छ, पश्चिम सेती सबै ल्याइन्छ,’ उनले भने, ‘पूर्वाधार बनाएर राजधानी पनि ल्याएर छोड्ने छु ।’ डडेल्धुरामा संरचना नहुँदा राजधानी बनाउने भनेर दिएको वाचा पूरा गर्न नसकेको उनको भनाइ छ । तर, प्रदेशसभाले प्रदेश राजधानी कैलालीको गोदावरीमा बनाउने निर्णय गरिसकेको छ । तोकिएको ठाउँमा पूर्वाधार नबनेका कारण प्रदेश सरकार अस्थायी राजधानी धनगढीबाटै सञ्चालन भइरहेको छ ।