महेन्द्रनगर: कञ्चनपुरमा एक वडाध्यक्षले हेल्मेट बाडिरहेका छन्। दोधारा–चाँदनी नगरपालिका ६ का वडाध्यक्ष ओम बस्नेतले हेल्मेट बाडिरहेका हुन्।
उनले चाडपर्व नजिकिएसँगै हुने दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीसँग सहकार्य गरेर हेल्मेट वितरण गरिरहेको जनाएका छन्।
इलाका प्रहरी कार्यालय दोधारा–चाँदनीका प्रहरी निरीक्षक जगत गाहामगरसहितको टोलीमा खटिएर उनले हेल्मेट वितरण गरेका छन्।
वडाध्यक्ष बस्नेतले आफ्नो वडा क्षेत्रमा पर्ने सडकमा दुर्घटना न्यूनीकरणका लागि नेपाल प्रहरीसँग समन्वय गरेर ट्राफिक सचेतना कार्यक्रम थालेको बताए। उनले हेल्मेट नलगाएर मोटरसाइकल गुडाउनेलाई हिजो बिहानैबाट सडकमा उभिएर हेल्मेट दिएका थिए।
उनले मंगलबार आयोजित एकदिने ट्राफिक सचेतनामूलक कार्यक्रममा ट्राफिक नियम उल्लंघन गरेर दुई पाङ्ग्रे सवारी साधन चलाउने १० जनालाई हेल्मेट उपहार दिएको जानकारी दिए।
वडाध्यक्ष बस्नेत गत स्थानीय तह निर्वाचनमा नेकपा एमालेकातर्फबाट निर्वाचित भएका थिए। ८७४ मतसहित वडा नम्बर ६ को वडाध्यक्षमा बस्नेत विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार दिलबहादुर सिजालीले ७५१ मत पाएका थिए।