धनगढी: सुदूरपश्चिममा सशस्त्रका सई नै तस्करीमा लागेको देखिएको छ। कैलालीको धनगढीमा सशस्त्रका सईले भारतबाट ल्याएको सामान बरामद भएपछि उक्त कुरा खुलेको हो।
मंगलबार साँझ नेपाल–भारत सीमा नाका त्रिनगरमा खटिएको थियो, जिल्ला प्रहरी कार्यालय कैलालीको टाइगर टोली। सोही समयमा भारतबाट सु.प.प्र. ०१ ००१ च ४३१६ नम्बरको स्कारपियो नाका छेउ डोकेबजारमा पुग्यो। स्कारपियोबाट उत्रिए सशस्त्र प्रहरीका नायब निरीक्षक (सई) अम्मर बिष्ट। उनको साथमा गाडी चालक र एकजना अन्य व्यक्ति पनि थिए।
गाडी चालकलाई ल्याउन भनेर सई बिष्ट डोकेबजारबाटै सु.प.प्र ०१ ००८ प ६५९८ नम्बरको मोटरसाइकलमा धनगढीतर्फ हिडे। प्रहरीको टाइगर टोलीका सदस्यलाई गाडीमा अवैध सामान छ की भन्ने शंका लाग्यो। टोलीका
एकजना सदस्यले झण्डै दुई किलोमिटर धनगढीतर्फ रहेको मिलन चोकको प्रहरी बिटमा उक्त गाडी रोक्न आग्रह गरे। मिलन चोकमा खटिएका प्रहरीले उक्त गाडी रोक्यो।
गाडीमा रहेका चालकले टाइगर टोली र बिटमा खटिएका प्रहरीलाई सशस्त्र प्रहरीको बडाभोजका लागि भारतीय बजारबाट सामान ल्याएको बताए। तर, गाडीमा ५३ सेट कुर्ता, २० सेट धोती, सात सेट ब्लाउज, सात सेट अन्डरवेयर, ६ सेट गन्जी, ५० किलो चिनी, दुई पेटी तेल र दुई कट्ठा नरीबल लगायतका अन्य सामान राखिएको थियो।
बडाभोजका लागि भनेपछि खाद्यान्नका सामान छोडिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कबिन्द्र बोहराका अनुसार बडाभोजको कार्यक्रमका लागि भन्दै ल्याइएका कपडा भने बरामद गरिएको छ।
‘गाडीसहित चालक भने फरार भएका थिए,’ उनले भने। सामान बरामद भएपछि सई बिष्ट प्रहरी बिट मिलन चोक पुगेका थिए। उनले भने गाडीमा ल्याइएको लुगाकपडाबारे आफूलाई जानकारी नभएको बताएका थिए।
यता सशस्त्र प्रहरी सुदूरपश्चिमका प्रमुख डिआइजी दीपक अधिकारीले मद्यती तथा सेवा निर्देशनालय गुल्म अत्तरियामा कार्यरत सई बिष्टमाथि कारबाहीको प्रक्रिया अगाडि बढाइएको जानकारी दिए।
‘आफ्ना इञ्चार्जलाई पनि जानकारी नदिएर सई बिष्ट भारत गएका रहेछन्,’ डिआइजी अधिकारीले भने, ‘मैले उनलाई बोलाएर सोधपुछ गरिसकेको छु। बडाभोजकै लागि सामान भए पनि भारत खरिद गर्नुपर्ने थिएन। उनीमाथि कारबाहीको प्रक्रिया अगाडि बढाएको छु।’