काठमाडौं– निर्वाचन आयोगले मतदान सम्पन्न भएको ६ दिनभित्र मतगणना सम्पन्न गर्ने योजना बनाएको छ । जेठ ५ गते भित्र मतगणना सम्पन्न गर्ने योजना रहेको निर्वाचन आयोगले जनाएको छ । ५ जेठ २०७९ मा देशभरका स्थानीय तहका जनप्रतिनिधिहरुको पदावधि सकिँदैछ ।
अधिकतम जनशक्ति खटाएर भएपनि छिटोभन्दा छिटो मतगणना गर्न मुख्य निर्वाचन अधिकृतहरुलाई निर्देशन दिइएको छ ।
३१ वैशाख २०७४ सालमा पहिलो स्थानीय तह निर्वाचन भएको थियो ।
स्थानीय तह निर्वाचन अनुसार, निर्वाचन भएको ६ दिनपछि पदावधि सुरु भएको मानिने व्यवस्था अनुसार देशभरका स्थानीय तहका जनप्रतिनिधिहरु ६ जेठ २०७४ देखि पदमा बहाल रहेको भनी अवधि गणना गरिन्छ । त्यसरी हेर्दा ५ जेठ २०७९ मा उनीहरुको पाँच वर्षे कार्यकाल पूरा हुन्छ । निर्वाचन आयोगले उनीहरुको विदाई हुनुअघि नै नयाँ जनप्रतिनिधि निर्वाचित भएर पदबहालको व्यवस्था मिलाउन खोजेको हो ।
देशभर ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिका छन् । निर्वाचन आयोगले ६ दिनभित्र ती स्थानीय तहको मतगणना सकाउनुलाई प्रमुख चुनौती मान्दै त्यही अनुसार जनशक्ति व्यवस्थापन गर्न निर्देशन दिएको छ ।