काठमाडौं– निर्वाचन पर्यवेक्षण समिति नेपाल (इओसी नेपाल) ले निर्वाचन आचारसंहिता उल्लंघनमा सुधार नभएको जनाएको छ । ७७ जिल्लामा तालिम प्राप्त पर्यवेक्षक एवम् अनुसन्धानकर्तासहित निर्वाचन पर्यवेक्षण गरिरहेको इओसीले स्थानीय तहको निर्वाचनमा उम्मेदवारहरूले आचारसंहिता पालनामा ध्यान नदिएको जनाएको हो ।
विगतको तुलनामा उम्मेदवारहरूले प्रचारप्रसारमा नयाँ–नयाँ विधि, प्रक्रियाहरु अपनाएकाले निर्वाचन अभियानमा हुने खर्च धेरै नै बढ्ने इओसी नेपालले जनाएको छ । ‘निर्वाचन अभियानका क्रममा ध्वजा पताका, ब्यानरहरूको कमी देखिएता पनि आचारसंहिता विपरीत धेरै गाडीहरु, कतै(कतै विदेशी नम्बर प्लेटका गाडीहरु, अबेर रातिसम्म आम नागरिकलाई बाधा पुग्नेगरी माइकिङ, सांगीतिक कार्यक्रमहरुको बढोत्तरी भएको पाइएको छ,’ सो संस्थाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
आचारसंहिता उल्लंघनका घटना सहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा बढी भएका सूचनाहरु प्राप्त भएको पनि इओसी नेपालले जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘मानिसहरु अस्पताल नै भर्ना हुनुपर्ने प्रकृतिका हिंसात्मक घटनाका जानकारी प्राप्त भएका छन्, जसका कारण सुरक्षा व्यवस्थामा अझै कडाई गर्नु पर्ने आवश्यकता देखिन्छ ।’ आचारसंहिता उल्लंघन सम्बन्धी उजुरीउपर निर्वाचन आयोगद्वारा ध्यानाकर्षण गराउने र स्पष्टीकरणसम्म सोध्ने काम भए पनि व्यापकरुपमा भइरहेको आचारसंहिता उल्लंघनमा सुधार नभएको पनि विज्ञप्तिमा भनिएको छ ।
मौन अवधिमा धेरै किसिमका घटनाहरु घट्ने र यो अवस्थामा निर्वाचनलाई भयरहित, स्वतन्त्र र पारदर्शी ढङ्गबाट सम्पन्न गर्ने र निर्वाचनमा आम नागरिकहरूको सहभागितालाई सुनिश्चित गर्ने दायित्व सबैको भएको बताएको छ । विशेषगरी राजनीतिक दल, उम्मेदवार, उम्मेदवारका कार्यकर्ताहरु र निर्वाचन आयोगले यसतर्फ विशेष ध्यान दिनुपर्ने ईओसीले जनाएको छ ।