काठमाडौं: प्रहरी अधिकृत आधारभूत तालिममा प्रशिक्षार्थी प्राविधिक प्रहरी निरीक्षक डा अरूण जोशी सर्वप्रथम भएका छन्। यस्तै सर्वद्वितीय प्रशिक्षार्थी प्राविधिक प्रहरी निरीक्षक डा. संजिब खड्का, सर्वतृतीय प्रशिक्षार्थी प्राविधिक प्रहरी निरीक्षक डा. बिनिता बस्नेत बने।
यसरी उत्कृष्ट प्रहरी अधिकारीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा मंगलबार आयोजित प्रहरी अधिकृत आधारभूत तालिम ३२औं समूहको दीक्षान्त समारोहमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले तालिमका विजयीलाई पुरस्कार वितरण गरे।
यस्तै, अध्ययन प्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी निरीक्षक डा. मृगेन्द्र कुमार सिंह यादव, कवाज एवम् शारीरिक व्यायाम प्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी निरीक्षक डा. विजय सुनार, चाँदमारी प्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी निरीक्षक डा। विशाल थापा र प्रहरी कारबाही तथा युक्ति प्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी नायव निरीक्षक आर्किटेक्ट बरूण सहनीले पनि पुरस्कार एवं प्रमाणपत्र प्राप्त गरे। साथै प्रहरी महानिरीक्षक कुँवरले तालिम सम्बन्धी गतिविधि समेटिएको पुस्तक ‘संकल्प’को विमोचन समेत गरे।
समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले समाजमा शान्ति सुरक्षा अमन चयन कायम गर्ने तथा अपराध रोकथाम एवं अनुसन्धान गर्न नेपाल प्रहरी राज्यको एक मात्र निकायको रूपमा रहेको चर्चा गर्दै विपद् व्यवस्थापन लगायत अन्य संवेदनशील र जटिलपूर्ण अवस्थामा समेत अग्रपंक्तिमा रहेर आम नागरिकमा सेवा प्रवाह गर्ने महत्वपूर्ण सुरक्षा निकायमा आवद्ध भई निर्दिशष्ट जिम्मेवारी वहन गर्न पाउनु आफैमा गौरवको विषय भएको उल्लेख गरे।
गत जेठ २९ गतेबाट संचालित ९५ दिन कार्यावधिको उक्त तालिममा प्राविधिक प्रहरी निरीक्षक २७ जना, प्राविधिक प्रहरी नायव निरीक्षक ११ जना र प्राविधिक प्रहरी सहायक निरीक्षक १ जना गरी कुल ३९ जना प्रशिक्षार्थी रहेका थिए।