काठमाडौंः बडादसैँको आठौँ दिन आज देशभर माता दुर्गा भवानीको पूजा आराधना गरी महाअष्टमी पर्व मनाइँदै छ। आजको दिन दसैँघर र कोतलगायत विभिन्न शक्तिपीठमा बलिसहित पूजाअर्चना तथा दुर्गा सप्तशती पाठ गर्ने चलन छ।
आज दसैँघर तथा जमरा कोठामा दुर्गा भवानी, महाकाली, महासरस्वती र महालक्ष्मीको प्रतीकका रूपमा चामल, द्रव्य, जनै, सुपारी, फलफूल र नैवेद्यसहित नौ थुप्रा राखी दुर्गापूजा गर्नुका साथै फलामबाट बनाइएका हातहतियार र सवारीसाधनलाई सफासुग्घर गरी बलिसहित पूजा गर्ने प्रचलन छ।
पशुबलि नचढाउनेहरू आजको दिन जमराकोठामा घिरौला, कुभिन्डो, मूला आदि बलि दिई दुर्गा भवानीलाई खीर तथा नरिवल चढाउने गर्दछन्। बडादसैँको आठौँ दिन माता पार्वतीको रूप मानिने महागौरीको विशेष पूजा गरिन्छ । पौणाणिक कथाअनुसार उनले भगवान् शिवलाई पतिका रूपमा पाउन कठोर तपस्या गरेकी थिइन्।
यसवर्ष तिथिअनुसार महाअष्टमी र महानवमी पर्व एकै दिन परेकाले नवदुर्गामध्येकी नवौँ देवी सिद्धिदात्रीको पनि पूजा गरिँदै छ। यस दिन दसैँघर र कोतलगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना गरी दुर्गा सप्तशती, श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ ।
मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमीकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसको वध गरेकाले महानवमी पर्वलाई विशेष महत्त्वका साथ लिइन्छ। कतिपय शक्तिपीठमा हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने प्रचलनसमेत छ।
महानवमीका अवसरमा कोतहरूमा हर्ष बढाइँका साथ कोतपूजा र निसानपूजा पनि गरिन्छ भने हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जंगी निसाना पूजा र कोतपूजा गर्ने प्रचलन छ ।