दसैं नेपालीहरुको महान चाड हो। त्यसमा पनि आज बडादसैंको मुख्य दिन हो। आज घरघरमा देशभर मान्यजनको हातबाट देवीको प्रसादको रुपमा टीका र जमरा लगाइँदै छ। नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँने गरिन्छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका लगाउने उत्तम साइत ११ बजेर ३६ मिनेटमा रहेको जनाएको छ।घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ।
आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापेर मनाइन्छ। त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ। यसैले आजको दिनलाई विजयको प्रतीकका रुपमा पनि लिइन्छ।
दसैंलाई केहीले धार्मिक आवरण दिएर हिन्दुहरूको पर्व देखाउन खोजे पनि यसले सांस्कृतिक अवतार लिइसकेको छ। त्यसैले दसैंलाई नेपालीको साझा चाड भनिएको छ।
सोही क्रममा अक्सफोर्ड मिडिया प्रालिद्वारा सञ्चालित महेन्द्रनगरपोष्ट डटकम भने निरन्तर समाचारकै दुनियाँमा छ। दसैं मनाउन आएकाहरुको सुखदुःख र सास्ती एवं नमाउन नपाएकाहरुको गाथा सम्प्रेषणमा हामी तल्लीन नै छौं।
दसैं सुरु भएयता हामीले नेपालीलाई घर फर्कदा सीमामा भएका सास्ती र सीमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई थप जिम्मेवार बनाउन पहल गरेका थियौ। त्यसमा हामी सफल भएको पनि विश्वास लिएका छौं।
अन्तमा: विसं २०८१ को दसैंका अवसरमा महेन्द्रनगरपोष्ट परिवारका तर्फबाट सम्पूर्ण देश तथा विदेशमा रहेका नेपाली, हाम्रा शुभचिन्तक, पाठक, विज्ञापनदाता, सहकर्मीहरूलगायत समस्तमा हार्दिक मंगलमय शुभकामना
प्रधान सम्पादक
-रवि धामी
सम्पादक
टेकसिंह धामी