काठमाडौं: नेपाल प्रहरीकी निलम्बित इन्सपेक्टर बिनुकुमारी शाहीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। पक्राउ पुर्जी जारी भएपछि शाही फरार भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार ‘हनी ट्रयाप’को गिरोहसँग मिलेमतो गरेर व्यवसायीबाट रकम असुलेको आरोपमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो। उनी भैँसेपाटी प्रभागमा तत्कालीन प्रमुख हुँदा सो आरोपमा डामिएकी थिइन्।
त्यसपछि घटना सार्वजनिक भएकोमा ललितपुर प्रहरी परिसरले एक छानबिन समिति गठन गरेर अनुसन्धान गरेको थियो। त्यसपछि घटनामा शाहीको पनि संलग्नता रहेको निष्कर्षसहित समितिले उनलाई पक्राउ गरेर कानुनी दायरामा ल्याउन सिफारिस गरेको थियो।
उक्त प्रतिवेदनका आधारमा इन्सपेक्टर शाहीका सवारी चालकसमेत रहेका सहायक हवल्दार महेन्द्र हमाललाई पक्राउ गरिसकेको ललितपुरका प्रहरी प्रमुख एसएसपी शेखर खनालले बताए।
‘समितिले दसैँअघि नै प्रतिवेदन बुझाइसकेको छ। प्रतिवेदन तालुक निकायमा पठाइसकेका छौँ। उक्त प्रतिवेदनकै आधारमा प्रहरी सहायक हवल्दार पक्राउ परिसकेका छन्। इन्सपेक्टरको हकमा पनि समितिको सिफारिस कार्यन्वयन हुन्छ। प्रक्रिया अगाडि बढिसकेको छ,’ एसएसपी खनालले भने।
प्रहरी निरीक्षक शाही र उनका सवारी चालक हमाललाई निलम्बन गरिसकिएको छ। हमाललाई पक्राउ गरेर गत शुक्रबार नै हिरासतमा राखिएको छ। इन्सपेक्टर शाहीलाई भने प्रहरीले खोजिरहेको छ। सो क्रममा शाहीकै घरमा पनि प्रहरी पठाइएको बताइएको छ।
हाल फरार रहेकी शाही छानबिन समितिले यसअघि घटनाको सन्दर्भमा बुझ्नका लागि सम्पर्क गर्दा पनि समितिसमक्ष उपस्थित भएकी थिइनन्।
ललितपुर प्रहरीले यस अगाडी नै उक्त घटनामा संलग्न रहेको आरोपमा सुनसरीको इटहरी बस्ने सुष्मा विक, इटहरीकै ताज स्लाम र भीमादेवी थापालाई पक्राउ गरिसकेको छ। अर्का आरोपी दर्शन पोखरेल भने हाल फरार छन्।
व्यवसायीलाई फसाउन इन्सपेक्टर शाहीको सहयोग देखिएको छानबिन समितिको निष्कर्ष छ।
भैँसेपाटी प्रभागमा ल्याएपछि व्यवसायीले आरोपित समूहलाई ३० लाख रुपैयाँ दिएको र रकम बुझाउन जाँदा इन्सपेक्टर शाहीका सवारी चालक पनि साथै गएको खुलेको छ। यस गिरोहसँग प्रहरीसमेत मिलेर व्यवसायीबाट रकम असुलेको छानबिन समितिको ठहर छ।
यस गिरोहको जालमा ललितपुरका घरजग्गा व्यवसायी परेका थिए। उनी युवतीलाई भेट्न सुनसरीसम्म पुगेको र पूर्वका केही जिल्ला यी युवतीहरूसँग घुमफिर गरेको पाइएको छ।
तर पछि यही समूहले उनीसँग रकमको लागि मोलमोलाइ गर्न पुगेको थियो। सुनसरीबाट सुरु भएको घटना भैँसेपाटी प्रभागमा पुगेर लेनदेनमा टुंगिएको थियो। रकम माग गरेका ताज स्लामले ती व्यवसायीलाई भीमादेवीको खातामा रकम जम्मा गर्न लगाएका थिए।
भीमादेवीको खातामा रकम जम्मा गर्न जाँदा पनि इन्सपेक्टर शाहीले सवारी चालकलाई सहयोगका लागि पठाएको देखिएको छ। रकम जम्मा गर्न एभरेस्ट बैंकसम्म चालक हमाल पुगेको प्रमाण फेला परेका छन्।
घटना बाहिरिएलगत्तै इन्सपेक्टर शाहीलाई जिम्मेवारीबाट मुक्त गरेर अनुसन्धान अगाडि बढाइएको थियो। उनको मोबाइल पनि ललितपुर परिसरले नियन्त्रणमा लिइसकेको जनाएको छ।
उनीहरुविरुद्ध आपराधिक लाभसम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान अगाडि बढाइएको छ।
शाही जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा कार्यरत् रहँदा समेत विवादमा मुछिएकी थिइन्।
०८० सालको माघ महिनामा एक जना प्रहरी जवान राजेन्द्र नाथले एउटा भिडियो सार्वजनिक गर्दै शाहीले दिएको यातनाका कारण आफू जागिर छाड्न बाध्य भएको बताएका थिए। शाही त्यसबेला जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा मुद्दा शाखामा कार्यरत् थिइन्।
यो मामलामा टिप्पणी गरेको विषयलाई लिएर शाहीले स्थानीय पत्रकार पुष्कर भट्ट र ऐश्वर्या कुँवरविरुद्ध विद्युतीय् अपराधको कसुर गरेको आरोपमा उजुरी दिएकी थिइन् र दुवै जना पक्राउ परेका थिए।
र, यो पनि: निलम्बित इन्सपेक्टर प्रहरी निगरानीमा