धनगढी: नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले डडेल्धुरा दुर्घटनाका घाइतेहरूको उपचारमा ध्यान दिन सम्बन्धित सबै पक्षसँग माग गरेको छ।
एमाले प्रदेश कमिटी सचिव रणबहादुर चन्दले एक विज्ञप्ति जारी गर्दै घाइतेहरूको उपचारको विषयमा ध्यान दिन आग्रह गरेको जनाएका छन्।
‘मृतकजनहरुको परिवारमा गहिरो समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनासहित यथाशीघ्र उपचारमा ध्यान दिन सम्बन्धित सम्पूर्ण सरोकारवाला र सरकारसँग जोडदार माग गर्दछौँ’ सचिव चन्दले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
मंगलबार राती महेन्द्रनगरबाट बैतडीको पुर्चौंडी गइरहेको रात्रिबस डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने १२ जना घाइते छन् । एमाले प्रदेश कमिटीले बस दुर्घटना प्रति दुख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली तथा घाइतेहरू प्रति शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।