काठमाडौँः लोक सेवा आयोगले एकै पटक राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) र राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव) स्तरका प्राविधिक र अप्राविधिक पदमा गरी ६६० जनाको दरखास्त खुला गरेको छ।
बुधबार आयोगले सूचना सार्वजनिक गर्दै उपसचिव ५१० र सहसचिव १५० पदको विज्ञापनका लागि दरखास्त खुला गरेको हो ।
आयोगले निजामती सेवाका सहसचिव तथा उपसचिवसहित राष्ट्रिय मानव अधिकार सेवा र स्वास्थ्य सेवातर्फ पनि सहसचिव तथा उपसचिवस्तरका पदमा दरखास्त खुला गरेको आयोगले जनाएको छ।
आयोगका प्रवक्ता गीताकुमारी होमेगाईले आयोगको नियमित कार्यतालिका अनुसार नै दरखास्त खुला गरिएको जानकारी दिइन्।
निजामतीतर्फ प्रशासन, परराष्ट्र, लेखापरीक्षण, इन्जिनियरिङ, वन, कृषि, शिक्षा र विविध सेवा र स्वास्थ्य सेवाका नवौँ र एघारौँ तहका पदमा आवदेन खुला गरेको हो। २०८१ मङ्सिर ४ गतेसम्म दरखास्त दिन सूचनामार्फत सूचित गरिएको छ।