काठमाडौं: हनि ट्रयापिङमा संलग्न गिरोहसँग मिलेर पैसा असुल्ने फरार इन्सपेक्टर बिनुकुमारी शाहीमाथि संगठित अपराधसम्बन्धि कसुर पनि आकर्षित हुने भएको छ।
संगठित शैलीमा अपराध गरेर व्यापारीलाई थुनामा राखी पैसा असुल गरिएको अनुसन्धानमा देखिएपछि आपराधिक लाभसँगै संगठित अपराध मुद्दा पनि चलाउन लागिएको हो।
जिल्ला प्रहरी परिसर, ललितपुरले हाल सहायक हवलदार महेन्द्र हमालसँग चार जनालाई थुनामा राखी अनुसन्धान गरिरहेको छ।
इटहरीका ताज इस्लाम नेतृत्वको समुहले इन्सपेक्टर शाहीसँग मिलेर एक व्यापारीलाई बलात्कार मुद्दामा फसाइदिने भन्दै एक दिन थुनामा राखेर ३० लाख रुपैयाँ असुल गरी छाडेको थियो।
सो गिरोह पेशेवर देखिएको, घटना योजनाबद्ध भएको र तीन जना भन्दा धेरै व्यक्तिको संलग्नता देखिएपछि ललितपुर प्रहरीले संगठित अपराध कसुरमा पनि अनुसन्धान गर्न लागेको हो।
संगठित अपराधमा प्रहरीले आरोपीलाई ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न पाउँछ भने सजाय पनि ५० प्रतिशत थप हुन्छ।
आपराधिक लाभ मात्र मुद्दा दायर भएमा २४ दिनमै मुद्दा दर्ता गरिसक्नुपर्ने हुन्छ। संगठित अपराध मुद्दा रोक्न इन्सपेक्टर शाहीले अझै चलखेल गरिरहेको स्रोत बताउँछ।
तर, प्रहरीले इन्सपेक्टर शाहीलाई भने पक्राउ गर्न चासो दिएको छैन। फरार अवस्थामै उनी पत्रकार तथा पीडित लगायतलाई धम्काउने गतिविधिमा सक्रिय छिन्।
स्रोतका अनुसार प्रहरीको माथिल्लो निकायबाटै उनलाई तत्काल पक्राउ नगर्न भनेर दबाब दिइएको छ। फरार अवस्थामै उनले चलखेल गरिरहेकी छिन्। यसअघि छानविन र निलम्बन रोक्न समेत अनेक प्रयास गरेकी थिइन् ल।
तर, पक्राउ परेका अभियुक्तहरु ताज इस्लाम र सुष्मा विकले नै उनको सबै पोल खोलिदिएका छन्। इन्सपेक्टरसँगको सल्लाहमै त्यसरी झगडाको उजुरी दिन लगाएर थुनामा राखी पैसा असुलिएको उनीहरुको बयान छ। प्रहरी प्रभाग भैंसेपाटीको प्रमुख हुँदा शाहीले यस्तो धन्दा चलाएकी थिइन्।
इन्सपेक्टर शाहीले गिरोहका नाइके इस्लामको मोबाइल समेत प्रहरी कार्यालयबाट गायब बनाएकी छिन्। सो मोबाइलमा इन्सपेक्टर शाहीदेखि माथिल्लो तहका प्रहरीसँगको उनको कुराकानीहरु थिए।
यो घटनामा इन्सपेक्टरको भूमिका अन्य अभियुक्तको भन्दा धेरै देखिएको छ। उनले छानविन समितिलाई बयान दिन समेत अस्वीकार गरेकी थिइन्।
र, यो पनि: पक्राउ पुर्जी जारी भएपछि निलम्बित इन्सपेक्टर फरार, घरै पठाइयो प्रहरी