धनगढी: कैलालीमा सशस्त्र प्रहरी बल नेपालले लाखौंको अवैध सामानसहित राँगालाई नियन्त्रणमा लिएको छ। बिहीबार सशस्त्र प्रहरी नं. ३४ गण कैलालीद्धारा १४ लाख मुल्यको अवैध सामान लोड गरिएको राँगासहित ४ ओटा गाडा बरामद गरिएको हो।
गणका प्रमुख एसपी दलबहादुर पाण्डेका अनुसार धनगढी उप-महानगरपालिका वडा नं. १० बनकट्टीघाटबाट रातिको समयमा भारततर्फ लैजान लागिएका उक्त सामान बरामद गरिएको हो।
सशस्त्रले बनकट्टीघाटस्थित सीमा ईलाकामा नेपालबाट अवैध रुपमा भन्सार छली गरेर भारततर्फ लैजादै गरेका ती सामान बेवारिसे अवस्थामा फेला पारेको जनाइएको छ।
त्यसपछि ती कवाडी टायर ट्यूवसहितका गाडा सशस्त्र प्रहरी बल, नेपाल बिओपि जुगेडाबाट सशस्त्र प्रहरी निरीक्षक धनबहादुर नाथको कमाण्डमा खटिएको टोलीले बरामद गरेको थियो।
बरामद गरिएका ८ राँगासहितको गाडामा पुरानो कवाडी टायर ट्यूवलाई आवश्यक कारवाहीको लागि कैलाली भन्सार कार्यालय धनगढीमा बुझाईएको जनाइएको छ।