कैलाली– कैलालीको टीकापुर नगरपालिकामा बहुक्षेत्रीय पोषणका आंशिक कार्यक्रम अन्तर्गत बालबालिकालाई बालभिटा खुवाउन थालिएको छ । बालबालिकामा देखिने कुपोषण न्यूनीकरणका लागि यसै वर्षदेखि दुई वर्षमुनिका बालबालिकालाई बालभिटा खुवाउन थालिएको हो ।
टीकापुरमा अहिले पनि छ प्रतिशत बालबालिका कुपोषणको जोखिममा रहेको तथ्याङ्क छ । बालबालिकाको पोषणमा ध्यान दिन कैलाली जिल्लाभरि यस वर्ष बालभिटा खुवाउन थालिएको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । गत असोजदेखि कैलालीको टीकापुर नगरपालिकाले छ महिना पुगिसकेका बालबालिकालाई अनिवार्य बालभिटा खुवाउन थालेको हो ।
टीकापुरकी पुष्पा देवकोटाले पनि आफ्नो बच्चालाई नियमित बालभिटा खुवाइरहेको बताइन् । “पहिलो बच्चा हुँदा बालभिटा खुवाउन पाइएन, अहिले दोस्रो बच्चाको पालामा स्वयंसेविकाले बालभिटा दिनुभयो, मैले खुवाइरहेकी छु”, देवकोटाले भनिन्, “छोरी स्वस्थ छिन्, सरकारले बालबालिकाको स्वास्थ्य राम्रो होस् भनी ल्याएका कार्यक्रम राम्रा छन्।”
बालभिटा १५ प्रकारका भिटामिन तथा खनिजतत्वको मिश्रण हो। यो सानो पुरियामा पाइन्छ। बालभिटा खानामा मिसाएर खुवाइन्छ। बालभिटा छ महिना पूरा भएदेखि दुई वर्षमुनिका बालबालिकालाई खुवाउनुपर्छ। बालभिटा घरमा तयार पारिएका खानेकुरा (जाउलो, लिटो, मिचिएको दाल, भात) सजिलैसँग मिसाएर खुवाउन सकिने भएकाले बालबालिका पनि रुचाएर खाने गरेको आमाहरू बताउँछन्।
बालभिटामा आइरनलगायत खनिजतत्व उपलब्ध हुने भएकाले रक्तअल्पता हुनबाट जोगाउने स्वास्थ्यकर्मी बताउँछन्। छ महिनादेखि दुई वर्षसम्मका बालबालिकालाई हरेक छ महिनाको अन्तरालमा दैनिक एक प्याकेटको दरले ६० प्याकेट बहु सुक्ष्म पोषकतत्वको मिश्रण थप आहारमा मिलाएर खुवाउनुपर्ने टीकापुर नगरपालिका जनस्वास्थ्य प्रवद्र्धन उपशाखाका सिनियर अहेव कमलबहादुर रावल बताउँछन्।
बालभिटा समुदायमा महिला स्वास्थ्य स्वयंसेविकामार्फत वितरण गर्ने गरिएको छ। यसका साथै पालिकाले स्वस्थ बच्चा प्रतिस्पर्धामा उत्कृष्ट हुने बच्चा र आमालाई पुरस्कृत गर्ने गरेको छ। यसका साथै कुपोषित बालबालिकाको उपचारका लागि सबै स्वास्थ्य संस्थामा आकस्मिककक्ष स्थापना गरिएका छन्। कुपोषित बालबालिकालाई तयारी खाना खुवाउने गरिएको छ ।