काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्न लागिएको छ। उनलाई समात्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली पार्टी कार्यालय, बनस्थली पुगेको छ।
सीआईबीका प्रवक्ता समेत रहेका एसपी होबिन्द्र बोगटीको नेतृत्वमा टोली केहीबेर अघिमात्रै त्यहाँ पुगेको हो।
सीआईबी प्रमुख एआईजी दीपक थापाले लामिछाने आजै समातिने र उनलाई पोखरा लगिने जनाए।
आजमात्रै सहकारी ठगीमा अनुसन्धान गर्न लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।
जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजंग शाहको इजलासले शुक्रबार लामिछानेसहित १४ जनालाई पक्राउ गर्न अनुमति दिएको हो।
पक्राउ पुर्जी जारी भएकाहरुमा रवि लामिछाने, विशाल तामाङ, नविन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दिपक लामा, अनन्त वावु राई, राम बहादुर खनाल, देवेन्द्र वावु राई, विज्ञान राई, ओम प्रकाश गुरुङ, विर बहादुर रानाभाट, दिपा न्यौपाने र कल्पना कुमारी श्रेष्ठ छन्।
पक्राउ पुर्जी जारी भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई सम्बोधन गर्दै ‘मानिस पक्राउ गरी पठाइदिने सम्बन्ध’ ब्योहोराको पत्र कास्की प्रहरीले पठाएको थियो।
लामिछाने पक्राउ गर्नका लागि कास्की जिल्ला अदालतले शुक्रबारकै अनुमति दिएको थियो। अदातलको अनुमति लगत्तै लामिछानेलाई पक्राउ गरी पठाउन पत्र आएको हो। त्यसपछि उनलाई समातेर लैजान प्रहरी खटाइएको हो।