काठमाडौँ: प्रतिपक्ष दलको शुक्रबारको बैठकमा सरकारलाई समर्थन गरेका लोकतान्त्रिक समाजवादी र नागरिक उन्मुक्ति पार्टी सहभागी भएपछि त्यसको तरंग बालुवाटार र बूढानीलकण्ठसम्म पुगेको छ। प्रतिपक्षको बैठकलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवाले लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई टेलिफोन गरी चासो राखे भने प्रधानमन्त्री केपी शर्मा ओलीले पनि जानकारी लिएका थिए।
लोसपा र नागरिक उन्मुक्ति नहुँदा सरकारलाई समस्या नपर्ने भए पनि उनीहरू प्रतिपक्षमा जाँदा अर्को राजनीतिक सन्देश जाने भएकाले गठबन्धनका दुई शीर्ष नेताले चासो राखेका हुन्। प्रमुख प्रतिपक्षी दल माओवादीका अध्यक्ष पुष्पकमल दाहाल आफैंले टेलिफोन गरी लोसपा अध्यक्ष ठाकुर र उन्मुक्ति अध्यक्ष रञ्जिता श्रेष्ठलाई बैठकमा बोलाएका थिए।
माओवादीले संसद् भवन नयाँ बानेश्वरमा बोलाएको बैठकमा सहभागीबारे ठाकुरले ‘त्यहाँ गएपछि मात्र प्रतिपक्षको बैठक रहेको’ जानकारी पाएको देउवासँग बताएका छन्। ‘मलाई प्रचण्ड (माओवादी अध्यक्ष दाहाल) जीले बाढीपहिरोपीडितको राहतका लागि छलफल गर्न आफैं फोन गरेर बोलाएपछि त्यहाँ गएँ’ ठाकुरको भनाइ उद्धृत गर्दै उनीनिकट नेताले भने, ‘त्यहाँ प्रतिपक्षको बैठक भएको थाहा पाएपछि बीचमै निस्किएँ।’
लोसपा नेता जितेन्द्र सोनलले सरकारलाई दिएको समर्थन कायम रहेको उल्लेख गर्दै समर्थन फिर्ताबारे पार्टीमा छलफल नभएको बताए।
सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्तिकी अध्यक्ष श्रेष्ठ पनि प्रतिपक्ष दलहरूको बैठकमा सहभागी भइन्। माओवादीका अध्यक्ष दाहालले समसामयिक विषयमा छलफल गर्न बोलाएपछि आफू सहभागी भएको उनले बताइन्। ‘केही दलका नेताहरूबीच बाढीपहिरो पीडितलाई राहतलगायत विषयमा छलफल गरौं भनेर बोलाउनुभयो । म पुग्दा बैठक सकिसकेको रहेछ,’ उनले भनिन्, ‘सरकारलाई हाम्रो पार्टीको समर्थन छ। अहिले दायाँबायाँ गर्ने भन्ने छैन ।’