काठमाडौं: प्रतिनिधिसभा सदस्य रहेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन्। संविधानको धारा १०३ को उपधारा ६ मा प्रतिनिधि सभा सदस्य पक्राउ भएपछि तत्काल सदनको नेतृत्वकर्तालाई सूचना दिनुपर्ने व्यवस्था छ।
अब प्रहरीले सभामुखलाई लामिछाने पक्राउ परेको जानकारी दिनेछ। लामिछानेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा पक्राउ गरेको हो। तर, लामिछानेको सांसद पद तत्काल जाने छैन।
प्रतिनिधिसभा नियमावलीको नियम २२५ मा प्रतिनिधिसभा सदस्यको पक्राउ र सांसद पद निलम्बन हुने सम्बन्धी व्यवस्था छ।
नियमावली २२५ को उपनियम ३ मा प्रचलित कानुन बमोजिम तीन वर्ष वा सो भन्दा बढी बैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई पुर्पक्षको लागि थुनामा रहेको अवस्थामा थुनामा रहेको अवधिभर सांसद पद निलम्बन हुन्छ।
यो व्यवस्था अनुसार लामिछाने धरौटीमा छुटे भने सांसद पद निलम्बनमा पर्ने छैन । यदि अदालतले लामिछानेलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिए सोही दिनदेखि लामिछानेको सांसद पद स्वतः निलम्बनमा पर्नेछ।