काठमाडौं: कञ्चनपुरको भिमदत्त नगरपालिका- ४ का २३ वर्षीय योगेश ठगुन्नाले ल्याब असिस्टेन्टको पढाइ सकेका थिए। पछिल्लो समय उनी महेन्द्रनगरको शर्मा प्याथोलोजीमा काम गर्दै आएका थिए। उनकाे मासिक तलब १३ हजार रुपैयाँ थियाे। उनकाे जीवन सामान्य नै चल्दै थियाे। तर, यसपल्ट दसैँको दिन उनको ह्वाट्सएपमा एक अपरिचित नम्बरबाट फाेन आयो।
फाेनबाट उनलाई अनलाइन कामको प्रलोभन देखाइएको थियो। सुरुमा कुनै रकम लगानी नगरी उनको वालेटमा रकम आयो। त्यसपछि उनलाई पाँच हजार रुपैयाँ जम्मा गर्न भनियो। पहिले रकम आएको देखेका योगेशले भनेकै जति रकम उनीहरूले पठाएको खातामा हालिदिए।
त्यस लगत्तै ह्वाट्सएपमा भेटिएका व्यक्तिले ५० हजार रुपैयाँ जम्मा गरे ३ गुणा रकम आउँछ भन्ने प्रलोभन देखाए। त्यो पैसावापस आउँछ भनेर भन्यो, तर फेरि तीन गुणा पैसा आउँछ भनेर ५० हजार रुपैयाँ जम्मा गर्न लगाइयाे।
उनले आफूसँग भएको उक्त रकम ती व्यक्तिले भनेको खातामा पठाइदिए। तर, त्यस लगत्तै ती व्यक्तिले थप ५० हजार रुपैयाँ थप्नुपर्ने बताए। योगेशले उक्त रकम व्यवस्थापन गरिदिन आफ्नी प्रेमिकालाई अनुरोध गरे। प्रेमिकाले सो रकम योगेशलाई पठाइदिइन्। योगेशले उक्त पैसा ह्वाट्सएपमा भेटिएका व्यक्तिले भनेको खातामा जम्मा गरिदिए।
यतिबेलासम्म उनको एक लाख ५ हजार रुपैयाँ गइसकेको थियो। उनलाई त्यसभन्दा तीन गुणा बढी रकम पाउने आश्वासन दिइएको थियो। तर, उनलाई थप ९८ हजार रुपैयाँ जम्मा गर्न भनियो। योगेशले कतैबाट ९८ हजार रुपैयाँ पनि व्यवस्थापन गरेर पठाए।
तर, उनलाई फेरि थप दुई लाख ५० हजार रुपैयाँ पठाउन लगाइयो। दुई लाख ५० हजार रुपैयाँ मागेपछि उनी डराएँ। त्यसपछि उनले यो कुरा आफ्नी प्रेमिका र दाइलाई बताए। योगेशले यसबारे दाइलाई बुझाउँदा उनका दाइले यसरी रकम पठाउँदा डुब्छ भन्दै रकम जम्मा नगर्न सुझाव दिए।
तर, योगेशलाई गएको रकम फिर्ता आउँछ कि भन्ने आश थियो। त्यसैले उनले त्याे व्यक्तिले भनेजसरी थप रकम पठाउँदै गए। त्यसाे गर्दागर्दै उनले आफ्नो, साथी, उनकी आमा र फार्मेसीका सञ्चालकसँग मागेर कूल १६ लाख ३ हजार रुपैयाँ बुझाइसकेका थिए।
तर, फेरि उनलाई थप ६ लाख रुपैयाँ तिर्न भनियो। अब भने योगेशले आफू ठगिएको थाहा पाए। आफूलाई पढाउँदा लागेका ऋण र अब लागेकाे ऋण सम्झेर उनले आत्महत्याकाे बाटाे राेज्ने निर्णय लिए। र, सुसाइड नोट लेखेर घरमै आत्महत्या गरे।
आत्महत्या गर्ने दिन अस्ति बुधबार बिहान योगेश कोठाबाट बाहिर निस्किएका थिए। फ्रेस भएर योगा गरेर फेरि काेठामा गए। तर, उनी काेठाबाट कहिलै ननिस्कने गरी अस्ताए।
अनलाइनबाट ठगिएपछि उनले आत्महत्याकाे बाटाे राजेकाे कञ्चनपुर प्रहरीले जनाएकाे छ। उनको शव आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परेको थियो। योगेशको परिवारले खबर गरेलगत्तै घटनास्थल पुगेको प्रहरीले ठगुन्नाको साथबाट सुसाइड नोट फेला पारेको थियाे।
त्यसमा उनले आफू अनलाइन ठगीको शिकार भएपछि आत्महत्याको बाटो रोजेको उल्लेख गरेका छन्। उक्त नोटका अनुसार अनलाइनबाट १६ लाखभन्दा बढी ठगिएपछि उनले आत्महत्या गरेका हुन्।
अनलाइनमा पैसा दोब्बर आम्दानी हुने भन्दै उनलाई लगानी गर्न लगाइएको थियाे। त्यसैमा लगानी गर्दागर्दै १६ लाख भन्दा बढी डुबेर तनाव झेल्न नसकेर उनले आत्महत्या गरेको देखिएकाे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेश जोशीले बताए। उनले सुसाइड नोटमा आफूजस्तालाई ठगी गर्नेलाई नछाड्न नेपाल सरकारलाई अनुरोध गरेका छन्।