धनगढीः बैतडीको पञ्चेश्वर गाउँपालिका–२ डिम्बरमा रहेको प्रहरी चौकी सारिएको छ। डिम्बरकी साढे १७ बर्षीया किशोरी बेपत्ता प्रकरणमा महाकाली प्रहरी चौकीका तत्कालिन इञ्चार्ज प्रहरी हवलदार कृष्णराज जोशी मुछिएपछि प्रहरी चौकी नै सारिएको हो।
तत्कालका लागि अस्थायी रुपमा महाकाली प्रहरी चौकीलाई कुलाउ प्रहरी चौकीमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकराज ढुंगानाले बताए। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार महाकाली प्रहरी चौकीलाई कुलाउमा सारिएको हो।
के हो किशोरी बेपत्ता प्रकरण ?
दसैँको अघिल्लो दिन २५ असोजमा महाकाली प्रहरी चौकीका इञ्चार्ज प्रहरी हवल्दार कृष्णराज जोशीमाथि कुटपिट भयो । जोशीलाई दाम्लोले बाँधेर स्थानीय बासिन्दाले कुटपिट गरेका थिए । बैतडी प्रहरीका अनुसार कुटपिटबाट घाइते भएका हवल्दार जोशीको जिल्ला अस्पतालमा उपचार नै गरिएको थियो ।
उनीमाथि डिम्बरकी साढे १७ वर्षीया किशोरीलाई बेपत्ता पारेको आरोप थियो । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता तथा प्रहरी निरीक्षक जनक ढुंगानाका अनुसार ती किशोरी २५ गते बिहान ५ बजेको समयमा घरबाट निस्केकी थिइन् ।
‘एकाबिहानै पानी ल्याउँछु भन्दै ती किशोरी घरबाट निस्केकी थिइन्,’ प्रहरी निरीक्षक ढुंगानाले भने, ‘सोही समयदेखि ती किशोरी बेपत्ता भएको परिवारका सदस्यले बताउँदै आएका छन् ।’
सोही दिन दिउँसो हवल्दार जोशीलाई नियन्त्रणमा लिएर स्थानीय बासिन्दाले कुटपिट गरेका हुन् । किशोरी बेपत्ता भएको चार दिनपछि उनका बुवाले किटानी जाहेरी दिएको प्रहरी निरीक्षक ढुंगानाको भनाइ छ । ‘शुक्रबार बिहान बेपत्ता भएकी किशोरीका आफन्तले मंगलबार जिल्ला प्रहरी कार्यालय बैतडीमा प्रहरी हवल्दार जोशीले नै बेपत्ता पारेको भन्दै किटानी जाहेरी दिएका थिए,’ इन्सपेक्टर जोशीले भने, ‘अहिले हवल्दार जोशीलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएका छौँ ।’
उनका अनुसार किशोरीलाई हवल्दार जोशीले नै बेपत्ता पारेको पीडित परिवारको आरोप छ । प्रहरी हवल्दार जोशीको किशोरीसँग चिनजान र निकटको सम्बन्ध रहेका तस्वीरसहितको विवरणसमेत किशोरीका आफन्तले प्रहरीसमक्ष बुझाएका छन् ।
यता प्रहरीको नियन्त्रणमा रहेका हवल्दार जोशीले भने किशोरीलाई आफूले बेपत्ता नपारेको बयान दिएका छन् । ‘२५ गते बिहान पानी ल्याउन जाँदा ती किशोरीसँग मेरो भेट भएको थियो,’ प्रहरी निरीक्षक ढुंगानाका अनुसार हवल्दार जोशीले प्रहरीको सोधपुछका क्रममा भनेका छन्, ‘ती किशोरीले आफूँहरूको सम्बन्धका विषयमा परिवारलाई जानकारी भइसकेको र सोही कारणले तनाव भएको बताएकी थिइन् । मैले आफू विवाहित भएको र व्यवस्थापन गर्न केही दिन समय लाग्ने बताएको थिए । त्यसपछि ती किशोरी पानी ल्याउन गएकी हुन् । मेरो भेट भएको छैन ।’
किशोरी बेपत्तामा प्रहरीको संलग्नता रहेको स्थानीयले आरोप लगाएपछि प्रहरी चौकीमा कार्यरत सबै प्रहरी फेरिएका छन् । त्यहाँ प्रहरी सहायक निरीक्षक सुरतबहादुर साउदको नेतृत्वमा नयाँ टोली खटाइएको छ ।