काठमाडौं: भारतीय वायुसेनाका नवनियुक्त प्रमुख अमरप्रित सिंह नेपाल आउन लागेका छन्। यसै हप्ता उनले नेपालको औपचारिक भ्रमण गर्न लागेको र यहाँस्थित भारतीय दूतावासले सो को तयारी गरिरहेको बुझिएको छ। भ्रमणबारे सरकारी तवरबाट औपचारिक जानकारी भने गराइएको छैन।
भारतीय जहाजहरुमाथि आतंककारी बम आक्रमणको धम्की बढिरहेको र भिस्तारासहित एअर ईन्डियाको नेपाल आउने जहाज पनि सो को अनाहक शिकार बन्दै गरेको बेला अघिल्लो महिना असोज १४ गते सोमवार वायुसेनाको २८ औं प्रमुखका रूपमा जिम्मेवारी सम्हालेका उनको आगमन आफैमा चासोको बिषय बन्न पुगेको छ।
यस्तै उता भारतीय वायुसेवा कम्पनीका विमानमा बम रहेको भन्दै गलत सूचना दिएको आरोपमा भारतीय प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
न्यूज १८ इण्डियाले उल्लेख गरेअनुसार, नागपुर प्रहरीले भारतको महाराष्ट्र प्रदेशका ३५ वर्षीय जगदिश उन्केलाई पक्राउ गरेको हो।
नागपुर प्रहरीको स्पेशल ब्रान्चले बमको झुटो खबर दिंदै आएका इमेल उनीसम्म ट्रेस भएको बताएको छ ।उनले किन बम रहेको भन्दै आतंक सिर्जना गरे भन्ने हालसम्म खुलेको छैन।
नेपालमा पनि सोमबार एयर इण्डियाको जहाजमा बम रहेको भन्दै सूचना आएपछि केही घन्टा विमानस्थल अस्तव्यस्त बनेको थियो। त्यसअघि भिस्टारा एयरवेजको विमानमा पनि बम रहेको हल्ला फैलिएको थियो।
७ दिनअघि पनि दिल्लीबाट काठमाडौं आएको भारतीय वायुसेवा कम्पनी भिस्टारा एयरवेजको जहाजमा बम राखिएको भन्दै हल्ला फैलिएको थियो। तर, दुवैपटक शंकास्पद वस्तु फेला परेन।