काठमाडौं: सुरक्षण मुद्रण घोटाला प्रकरणका आरोपित निलम्बित मुख्यसचिव वैकुण्ठ अर्यालले सफाइ पाएका छन्। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्य न्यायाधीशद्वय खुशीप्रसाद थारू र रितेन्द्र थापाको इजलासले उनलाई आज ‘क्लिन चिट’ दिएको हो।
अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्यालसहित ११ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। अख्तियारले ३८ करोड रूपैयाँ भ्रष्टाचार भएको दाबीसहित दायर गरेको मुद्दामा विशेषले अर्याललाई ५० हजार रूपैयाँ धरौटीमा छाडेको थियो।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिव रहँदा सुरक्षण मुद्रण विकास समितिको अध्यक्ष रहेका उनको संलग्नता र अगुवाइमा भ्रष्टाचार भएको अख्तियारको दाबीलाई अदालतले अस्वीकार गरेको हो। यस प्रकरणमा अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई भने दोषी ठहर गरेको छ।